PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सरकारी खर्च गर्ने बाटो खुल्यो, विनियोजन विधेयकको राष्ट्रपति भण्डारीले गरिन् प्रमाणीकरण



सरकारी खर्च गर्ने बाटो खुल्यो, विनियोजन विधेयकको राष्ट्रपति भण्डारीले गरिन् प्रमाणीकरण
फाइल फोटो।

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक-२०७८ प्रमाणीकरण गरेकी छन्। नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

दुवै सदनबाट पारित भएको विनियोजन विधेयक प्रमाणीकरणका लागि आज राष्ट्रपति कार्यालय पठाइएको थियो। सभामुख अग्नि सापकोटाले प्रमाणित गरी आज विधेयक राष्ट्रपति कार्यालय पठाएका थिए।

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले पेश गरेको विनियोजन विधेयक-२०७८ प्रतिनिधिसभाबाट असोज ४ गते बहुमतले पारित भएको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोधका बीच विनियोजन विधेयक पारित भएको थियो।

विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसद प्रेम सुवाल मात्र सहभागी भएका थिए। बैठकमा सुवालले विभिन्न मन्त्रालय अन्तर्गतका शीर्षकमा रहेका खर्च कटौतीको प्रस्ताव पेश गरेका थिए। सो प्रस्ताव बहुमतले अस्वीकृत गर्दै विनियोजन विधेयक पारित भएको थियो।

राष्ट्रियसभाको आजको बैठकले एमालेको अवरोधका बीच प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयकलाई बहुमतमार्फत पारित गरेको थियो। आजै राष्ट्रिय सभाले पारित गरेको सन्देश प्रतिनिधि सभालाई दिएको थियो।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेसँगै सरकारी खर्चको बाटो खुलेको छ। अघिल्लो सरकारले अध्यादेश मार्फत् ल्याएको बजेटलाई प्रतिस्थापन गर्न सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो। अघिल्ला वर्षहरुमा विनियोजन विधेयक छलफल एक सातासम्म हुने गरेको थियो। यस पटक अवरोधका बीच एकै दिनमा विधेयक पारित भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell