PahiloPost

Jul 3, 2024 | २० असार २०८१

सिन्धु कांग्रेसको वडा अधिवेशनमा खुकुरी हानाहान! वडा अधिवेशन स्थगित, गाउँ/नगरको अधिवेशन अनिश्चित



सिन्धु कांग्रेसको वडा अधिवेशनमा खुकुरी हानाहान! वडा अधिवेशन स्थगित, गाउँ/नगरको अधिवेशन अनिश्चित

काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ स्थित गुम्बा गाउँमा खुकुरी हानाहान भएको छ। कांग्रेस वडा अधिवेशनको समयमा खुकुरी हानाहान भएपछि अधिवेशन रद्द भएको नेपाली कांग्रेस सिन्धुपाल्चोकले जनाएको छ।

यद्यपि खुकुरी हानाहानमा उत्रनेहरु अधिवेशनसँग सम्बन्धित व्यक्ति नभएको नेपाली कांग्रेस सिन्धुपाल्चोकले दाबी गरेको छ। 'ती व्यक्तिहरु कांग्रेसका कार्यकर्ता पनि हैनन् र अधिवेशनसँग उनीहरुको कुनै सम्बन्ध छैन,' कांग्रेस सिन्धुपाल्चोकका जिल्ला सचिव बिलबहादुर तामाङले भने।

राप्रपा कार्यकर्ताको खुकुरी प्रहारबाट पाँचलाल तामाङ सख्त घाइते भएका छन्। खुकुरी प्रहार गर्ने व्यक्तिको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइते तामाङलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको र ह्याम्स अस्पतालमा उपचाररत रहेको जिल्ला प्रहरी कार्यालयका एसपी राजन अधिकारीले बताए।

‘जुगल वडा ३ मा घटना भएको रहेछ। प्रहरीको टोली त्यहाँ पुगिसकेको छ। खुकुरी प्रहारबाट पाँचलाल तामाङ गम्भीर घाइते भएकाले उनलाई हेलिकप्टरबाट उद्धार गरी ह्याम्समा पुर्‍याइसकेको छ,’ एसपी अधिकारीले भने।

घाइते हाल बोल्न सक्ने अवस्थामा नरहेकोले के कारणले खुकुरी प्रहार भएको खुल्न नसकेको उनले बताए।

‘पीडित अहिले बोल्न सक्ने अवस्थामा नभएकोले हामीले घटनाको भेरिफाइ गर्दैछौ। प्रारम्भिक चरणमै भएकोले के कसरी घटना भएको खुल्न सकेको छैन,’ एसपी अधिकारीले भने।

कांग्रेस सिन्धुपाल्चोकमा गत मंगलवारलाई वडा अधिवेशन तोकिएको थियो। १०३ वडा रहेको जिल्लामा तोकिएको मितिमा ९८ वटा वडामा अधिवेशन सकिएको थियो। बाँकी वडामा आज अधिवेशन तोकिएकोमा गुम्बा गाउँको वडा अधिवेशन भने रद्द भएको छ।

यसैगरी, भोलिका लागि तय गरिएको गाउँ/नगर अधिवेशन रद्द भएको छ। जिल्ला निर्वाचन अधिकृत छविरमण निरौलाले विज्ञप्ति जारी गर्दै भोलिका लागि तय गरिएको गाउँ/नगर अधिवेशन रद्द भएको जनाएका हुन्।

‘नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत यस सिन्धुपाल्चोक जिल्लामा यही मिति २०७८ असोज ९ मा हुने भनिएको गाउँपालिका/नगरपालिका निर्वाचन प्राविधिक कारणले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको यसै सूचनामार्फत सम्बन्धित महानुभावहरुलाई अवगत गराउँदछु,’ जिल्ला निर्वाचन अधिकृत निरौलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell