PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

एमाले केन्द्रीय कमिटी बैठक : विधान महाधिवेशनमा पेस गरिने तीन प्रतिवेदनमाथि छलफल गर्न १० समूह निर्माण



एमाले केन्द्रीय कमिटी बैठक : विधान महाधिवेशनमा पेस गरिने तीन प्रतिवेदनमाथि छलफल गर्न १० समूह निर्माण
फोटो : चन्द्रकला क्षेत्री/रासस

काठमाडौं : नेकपा (एमाले)ले पार्टीको विधान महाधिवेशनमा पेश गर्ने प्रतिवेदनको मस्यौदामाथि छलफल गर्न १० वटा समूह निर्माण गरेको छ। शुक्रवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा पेस गरिने तीन प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह निर्माण गरेको हो।

बैठकपछि पार्टीका प्रचार विभाग प्रमुख योगेश कुमार भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठकमा प्रस्तुत भएका तीन प्रतिवेदन राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र विधान संशोधन सम्बन्धि प्रतिवेदनसहित सुझावहरु केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिएको बताए।

उनले प्रतिवेदनमाथि छलफल गर्नको निम्ति १० वटा विभिन्न समूहमध्ये ७ वटा प्रदेशस्तरीय भौगोलिक समूह, जनसंगठनलाई हेर्न पार्टीका इन्चार्जहरुको एक समूह, विभागीय प्रमुखहरुको समूह र प्रदेशमा सम्पर्क कमिटीहरु, उपत्यका विशेष कमिटीहरुलगायतका समूहहरुलाई हेर्न अर्को समूह निर्माण गरेको बताए।

भट्टराईले प्रतिवेदनमाथि विभिन्न समूहहरुले शनिवार १ बजेसम्म अध्ययन गर्ने र १ बजे बस्ने केन्द्रीय कमिटीको बैठकमा आफ्ना सुझाव राख्ने बताए।

प्रचार विभाग प्रमुख भट्टराईले भने, ‘नेकपा (एमाले)को नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानअनुसार पार्टीले विगतदेखि अवलम्बन गर्दै आएको केही अधिवेशनका प्रक्रियाहरुलाई केही मात्रामा बदलेका छौँ, विगतमा नीति, विधान, नेतृत्व सबै महाधिवेशन एउटै हुन्थ्यो, त्यही महाधिवेशनमा राजनीतिक प्रतिवेदन र विधानहरु पनि छलफल हुन्थ्यो, त्यही महाधिवेशनले पार्टीको नेतृत्व पनि चयन गर्थ्यो, त्यसबाट हामीलाई महाधिवेशनमा विधान, संगठनात्मक प्रस्ताव, राजनीतिक प्रतिवेदनमाथि कम ध्यान दिने, छलफल कम हुने, मुलतः प्रतिनिधिहरुको ध्यान र सिंगो पार्टीको ध्यान नेतृत्व चयनप्रति ज्यादा केन्द्रित भयो। त्यसले गर्दा पार्टीमा कतिपय विचार निर्माणका सवालहरु गम्भीरताका साथ अगाडि बढेनन् भन्ने हाम्रो अनुभवलाई नवौँ राष्ट्रिय महाधिवेशनले के निस्कर्ष निकाल्यो भने अब हामीले अलग अलग २ वटा महाधिवेशन गर्नुपर्छ। एउटा विधान महाधिवेशन र अर्को नेतृत्व निर्वाचन सम्बन्धि महाधिवेशन।’

विभाग प्रमुख भट्टराईले शनिवार दिउँसो १ बजे बस्ने पार्टीको केन्द्रीय कमिटीको बैठकमा समूहगत नेताहरुले आफ्नो सुझाव दिएपछि प्रतिवेदन दस्तावेजहरुलाई परिमार्जन गरेर असोज १५ गते आयोजना हुने विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने बताए। एमालेको विधान महाधिवेशन आगामी असोज १५ गतेदेखि १७ गतेसम्म ललितपुरको गोदावरीस्थित सम्मेलन हलमा हुँदैछ। -न्युज एजेन्सी नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell