PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

आजबाट कांग्रेसको गाउँ/नगर अधिवेशन



आजबाट कांग्रेसको गाउँ/नगर अधिवेशन

काठमाडौं : कार्यतालिकाअनुसार नेपाली कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लामा आज गाउँ/नगर अधिवेशन गर्दैछ। देशभरका ६४ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लागेर अधिकांश जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको छ। यी जिल्लाका धेरैजसो स्थानमा आज गाउँ/नगरको अधिवेशन हुन लागेको हो।

यता काठमाडौं, ललितपुर, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा आज गाउँ/नगर अधिवेशन नहुने भएको छ। रामेछापले भोलिका लागि गाउँ/नगर अधिवेशन तय गरेको छ। ललितपुरले पर्सि ११ गतेमात्र गाउँ/नगर अधिवेशन गर्ने जनाएको छ। काठमाडौंले १६ गतेका लागि गाउँ/नगर अधिवेशन तय गरेको छ। यता सिन्धुपाल्चोकले केही वडा अधिवेशन हुन बाँकी रहेको भन्दै आज हुने भनिएको गाउँ/नगर अधिवेशन अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको जनाएको छ।

यसैगरी काभ्रेमा विवाद चर्कने संकेत देखिएको छ। जिल्ला सभापति मधु आचार्यले आजको अधिवेशन नहुने भन्दै विज्ञप्ति जारी गर्दा निर्वाचन अधिकृत राजेन्द्र लामिछानेले भने आजै अधिवेशन हुने दाबी गरेका छन्।

यसैगरी कांग्रेसले बाँकी १३ जिल्लाको क्रियाशील अझै टुंगो लगाउन सकेको छैन। प्रदेश २ का कुनै जिल्लाको क्रियाशील सूची सार्वजनिक भएको छैन। विवादका कारण पटकपटक कांग्रेसले निर्वाचन कार्यतालिका पटकपटक संशोधन गर्दै आएको छ। यसपटक पनि दशैंअगाडि गाउँ/पालिका अधिवेशनमात्र हुने र बाँकी अधिवेशन दशैंपछाडि धकेलिने देखिएको छ।

पछिल्लो संशोधित कार्यतालिकाअनुसार असोज १२ गते प्रदेश सभाको क्षेत्रीय अधिवेशन, असोज १५ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन र असोज १८ गते एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन तय गरिएको थियो। दशैंअघिका लागि तय गरिएका गाउँ/नगरका अधिवेशन दशैं पछि धकेलिने कांग्रेस नेताहरु नै बताउँछन्।

यस विषयमा कांग्रेस पदाधिकारी बैठकमा पटकपटक छलफल भएको र केन्द्रीय समितिबाट निर्णय गराउने तयारीमा पार्टी रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell