PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

मकवानपुरमा कांग्रेस अधिवेशन : २ पालिकामा सर्वसम्मत, मनहरीमा प्रकाश बर्तौता विजय, ७ वटामा मतगणना जारी



मकवानपुरमा कांग्रेस अधिवेशन : २ पालिकामा सर्वसम्मत, मनहरीमा प्रकाश बर्तौता विजय, ७ वटामा मतगणना जारी

हेटौँडा : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मकवानपुरका १० वटा स्थानीय तहमा गाउँ/नगर अधिवेशनको मतगणना जारी छ। जिल्लाको १० वटै स्थानीय तहमध्ये २ वटामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो।

इन्द्रसरोवर गाँउपालिकामा विश्व लामा र बकैया गाँउपालिकामा दिलबहादुर बम्जन सभापतिमा सर्वसम्मत चयन भएका हुन्। त्यस्तै, मनहरी गाउँपालिकामा प्रकाश बर्तौला निर्वाचित भएका छन्।

बकैया गाउँपालिकामा ४ जनाको चर्चा चलेको थियो। गाउँपालिका सभापतिका लागि भूमिनन्द गौतम, सोम तिमल्सिना, दिलबहादुर बम्जन र निशान बजगाइँले दावी गर्दै आएका थिए।

हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र ५ वटा गाउँपालिकाहरुमा अधिवेशन सकिएर मतगणना जारी छ। जिल्लाका सबै स्थानीय तहहरुमा शनिवार दिँउसोदेखि अधिवेशन शुरु भएको हो।

गाउँ/नगर अधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन गर्ने प्रयास गरिएको र सहमति नहुने पालिकामा प्रजातान्त्रिक प्रक्रिया अवलम्वन गरिएको प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए। गाउँ/नगर अधिवेशनले सबै स्थानीय तहहरुमा नयाँ नेतृत्व प्रदान गर्नेछ। जिल्लाका १० स्थानीय तहहरुमध्ये प्रदेशको राजधानीसमेत रहेको हेटौँडा उपमहानगरपालिकाको अधिवेशनलाई महत्वका साथ हेरिएको छ।

हेटौँडा उपमहानगरपालिकामा पार्टीको नेतृत्वका लागि उत्सव इटेनी र महेन्द्र राउत प्यानलसहित चुनावी मैदानमा छन्। इटेनी पार्टी सभापति शेरबहादुर देउवा पक्षधर हुन् भने राउत वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुन्।

१३ औँ महाधिवेशनमा जिल्ला कोषाध्यक्ष पदमा २ मतले पराजित भएका इटेनीले उपमहानगरको प्रत्येक वडामा पुगेर जनताको सेवा गर्ने र संगठन विस्तार गर्ने योजनासहित निर्वाचनमा उत्रिए।

त्यस्तै, थाहा नगरपालिकाको सभापतिमा प्रमोदकृष्ण जोशी र भरत गोपालीबी प्रतिष्पर्धा छ। विगतदेखि नै सक्रिय राजनीति गरिरहेका दुवै जना आफ्ना एजेन्डासहित निर्वाचनमा होमिएका हुन्।

मकवानपुरगढी गाउँपालिकाको नेतृत्वका लागि भने ३ जनाको दाबी छ। जसमा गोपी अधिकारी, अर्जुनप्रसाद दाहाल र राजवीर मोक्तान छन्। बागमती गाउँपालिकामा फणिन्द्र तिमल्सिना, चोकबहादुर ठाडामगर र डिल्लीप्रसाद घोरासैनी प्रतिष्पर्धामा छन्।

त्यस्तै, राक्सिराङ गाउँपालिकामा देव थिङ र वीरेन्द्र जिम्बा छन्। कैलाश गाउँपालिकामा राजेन्द्र घिसिङ र गुणराज स्याङ्तान, भीमफेदी गाउँपालिका सभापतिमा नारायण थापा र संजिव श्रेष्ठ प्रतिष्पर्धामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell