PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

कांग्रेस महाधिवेशन : पोखरा महानगरमा १ हजार ३४४ मत खस्यो, दुई पालिकामा सर्वसम्मत



कांग्रेस महाधिवेशन : पोखरा महानगरमा १ हजार ३४४ मत खस्यो, दुई पालिकामा सर्वसम्मत

पोखरा : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पोखरा महानगरपालिका कार्यसमितिको लागि भएको मतदानमा १ हजार ३ सय ४४ मत खसेको छ। पोखरा महानगरमा कांग्रेसका १ हजार ३ सय ७० जना मतदाता छन्।

पोखरा नयाँबजार प्रदर्शनी केन्द्रमा शनिवार बिहान साढे ९ बजेदेखि साढे ४ बजेसम्म मतदान भएको थियो। मतगणना ८ बजे हुँदै छ।

महानगर कार्यसमितिको सभापतिमा ६ जनाको उम्मेद्वारी छ। गंगाधर पराजुली, ज्योति हमाल, मिलन प्रसाद तिवारी, मोहन प्रसाद बास्तोला (वडाध्यक्ष), रामराज लामिछाने (वडाध्यक्ष) र सुरेन्द्रमान बिजुक्छे (पोखरा उद्योग वाणिज्य संघका महासचिव) गरी ६ जनाको सभापति पदमा प्रतिस्पर्धा छ। सभापति पदका लागि पराजुली र बिजुक्छेलाई कडा प्रतिस्पर्धी मानिएको छ।

यस्तै, उपसभापतिमा कृष्ण प्रसाद अधिकारी, निर्दोष विक्रम पौडेल, प्रयोग भण्डारी, भावसागर बराल, राजेन्द्र बराल र शिव केसी उम्मेद्वार छन्। सचिव पदमा गणेश बहादुर थापा, टुवराज बास्तोला र सुरेन्द्रबाबू तिवारीले उम्मेद्वारी दिएका छन्।

सहसचिवमा नरेन्द्र बास्तोला, पुष्पराज सिग्देल, रविन कायस्थ, लक्ष्मी बास्तोला, सञ्जय आले, संर्घष कोइराला गरी ६ जनाले उम्मेद्वारी दिएका छन्।

यस्तै, जिल्लामा रहेको चार गाउँपालिकामध्ये दुईमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ। अन्नपूर्ण गाउँपालिकामा मनपति भण्डारी र रुपा गाउँपालिकामा बिमलबाबु न्यौपानेको नेतृत्वमा गाउँपालिका समिति बनेको छ।

माछापुच्छ्रे गाउँपालिकाको सभापति पदमा वीरेन्द्र गुरुङ चयन भएका छन्। उनको प्रतिस्पर्धी मधुसुदन अधिकारी थिए। गुरुङ ९१ मत ल्याएर सभापति निर्वाचित भएका छन् भने अधिकारीले १५ मत कम ल्याएका छन्।

यस्तै, उपसभापतिमा रामबहादुर गुरुङ र मीनबहादुर गुरुङ चयन भएका छन्। उनीहरुले क्रशमः ८७ र ८८ मत ल्याएका छन्। यता सचिवमा केशवराज अधिकारी र सञ्जय लम्साल चयन भएका छन्। सहसचिवमा महादेवी गुरुङ र बालकृष्ण गौतम चयन भएका छन्।

मादी गाउँपालिकाको सभापतिमा देवीजङ्ग गुरुङ र यमबहादुर गुरुङ प्रतिस्पर्धी छन्। पालिकामा मतगणना भइरहेको निर्वाचन अधिकृत आरसी बिमल पौडेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell