PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

रामेछापमा कांग्रेस कार्यकर्ता सवार जिप दुर्घटना, क्षेत्रीय प्रतिनिधिको मृत्यु



रामेछापमा कांग्रेस कार्यकर्ता सवार जिप दुर्घटना, क्षेत्रीय प्रतिनिधिको मृत्यु
प्रतीकात्मक स्केच

काठमाडौं : नेपाली कांग्रेस रामेछापको नेता कार्यकर्ता सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गाउँ नगर अधिवेशनका लागि काठमाडौंबाट रामेछाप जाँदै गरेको प्रदेश नं.३-०१०२४ च.१४४० नं.को बलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख डिएसपी नवराज ढुंगानाले जनाए।

शनिवार साँझ सुनापति गाउँपालिका–४ बेथानस्थित पानीघाट सिरान जंगलमा गाडी दुर्घटना हुँदा कांग्रेस रामेछापका उपसभापति जितेन्द्र मोक्तानसहित पाँच जना घाइते भएका थिए। 'घाइतेमध्ये वर्ष ४६ की शारदा खत्रीको मृत्यु भएको खबर धुलिखेल अस्पतालले दिएको छ,' जिल्ला प्रहरी प्रमुख डिएसपी ढुंगानाले भने। खत्री हालै सुनपतिबाट क्षेत्रीय प्रतिनिधिमा चयन भएकी हुन्। उनी महाधिवेशन प्रतिनिधि बन्ने तयारीमा रहेको रामेछाप कांग्रेसले जनायो।

रामेछापको गाउँ/नगर अधिवेशन आजका लागि तोकिएको र काठमाडौंबाट हिलेदेवी तर्फ जाने क्रममा दुर्घटना भएको बताइएको छ। घाइते हुनेमा सुनापति गाउँपालिका–३ हिलेदवी निवासी जितेन्द्र मोक्तान, मेघबहादुर खत्री, जयप्रकाश गौतम र चालक रामकुमार लामा रहेका छन्। घाइते चार जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको कांग्रेस रामेछापले जनायो।

घटना के कति कारणले भएको भन्नेबारेमा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell