PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पद्मश्री पुरस्कार मोक्षभूमि र पद्मश्री साधना सम्मान भक्तराज आचार्यलाई



पद्मश्री पुरस्कार मोक्षभूमि र पद्मश्री साधना सम्मान भक्तराज आचार्यलाई

काठमाडौं : वर्ष २०७७ को पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास मोक्षभूमिलाई दिइने भएको छ। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले पुरस्कार मोक्षभूमिलाई दिइने निर्णय भएको जनाएका हुन्।

यसैगरी पद्मश्री साधना सम्मान भजन शिरोमणि भक्तराज आचार्यलाई प्रदान गरिने उनले जनाएका छन्। '२०७७ सालको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई र पद्मश्री साधना सम्मान गायक तथा सङ्गीतकार भजन शिरोमणि भक्तराज आचार्यलाई अर्पण गर्ने निर्णय गरिएको छ,' प्रतिष्ठानका अध्यक्ष लामिछानेले ट्वीट गर्दै भनेका छन्।

मोक्षभूमि सिंजा खस साम्राज्यमा रहेको दास मुक्तिको विषय समेटिएको किताब हो।

प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये उत्कृष्ट एक पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ भने २०६७ सालयता साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान दिन थालेको हो।

पुरस्कार र सम्मान दुबैको राशि तीन-तीन लाख रुपैयाँ रहेको छ। प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिँदै आएको पुरस्कार यस वर्ष भने कोभिड-१९ लाई ख्याल गर्दै अनुकूल समयमा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।

अघिल्लो वर्ष वर्षको पद्मश्री साहित्य पुरस्कार भने विवादमा तानिएको थियो। सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’लाई र पद्मश्री साधना सम्मान मोदनाथ प्रश्रितलाई दिने निर्णय गरेको थियो। उप्रेतीले प्रश्रितसँगै पुरस्कार नलिने भनेपछि विवादमा तानिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell