काठमाडौं : ललितपुर जिल्लाको ६ वटै तहको गाउँ/नगर अधिवेशन सम्पन्न भएको छ। सोमवार भएको अधिवेशनबाट सबै तहको नेतृत्वसमेत चयन भएको कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले बताए।
गोदावरी नगरपालिका, वाग्मती गाउँपालिका, कोन्ज्योसोम र महाङ्काल गाउँपालिकामा सर्वसम्मत कमिटी चयन भएको थियो। ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिकामा भने मतदान प्रक्रियामार्फत नेतृत्व चयन गरिएको अमात्यले बताए।
महानगरमा सुभाननरत्न
ललितपुर महानगरको कांग्रेस सभापतिमा सुभाननरत्न धाख्वा निर्वाचित भएका छन्। धाख्वाले २८२ मत पाउँदै महानगरको सभापति पदमा जित निश्चित गरेका हुन्। उनका प्रतिद्वन्द्धी गणेशभक्त श्रेष्ठले २२१ मत पाएका थिए।
यसैगरी उपसभापतिमा निशा महर्जन र रामकुमारी लिम्बु निर्वाचित भएका छन्। निशाले २६१ मत पाउँदा रामकुमारीले २६० मत पाएकी छन्। उपसभापतिमा निर्वाचित निशा गणेश टिमका हुन्।
यता सचिवमा भने दुबैजना धाख्वा टिमबाटै निर्वाचित भएका छन्। राजु ताम्राकार २८५ मत पाउँदै निर्वाचित भए भने सुनिलकुमार थापा २५६ मत पाउँदै सचिव पदमा विजयी भए।
सहसचिवमा कुमार श्रेष्ठ र प्रकाश महर्जन निर्वाचित भए। कुमारले २४१ मत पाउँदा प्रकाशले २६३ मत पाए। निरञ्जन गणेशभक्त टिमका हुन्।
नगरसभापतिमा निर्वाचित धाख्वा संस्थापन पक्षको भएको कांग्रेस ललितपुरका सचिवमा निर्वाचित राजु ताम्राकारले बताए। 'पदाधिकारीमा निर्वाचित दुई जनाबाहेक सबै संस्थापन पक्षका हुन्,' उनले भने। पदाधिकारीमा दुई जना पौडेल पक्षको जित भएको उनले बताए। ललितपुरमा सोमवार गाउँ/नगर अधिवेशन भएको हो।
वाग्मतीमा वीरबहादुर
वाग्मती गाउँपालिकामा वीरबहादुर लोप्चनको सभापतित्त्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको जिल्ला सभापति अमात्यले बताए।
उपसभापतिमा इकुडोलका ओमप्रसाद तिमल्सिना र जगतबहादुर लो चयन भएका छन्। सचिवमा भट्टेडाँडाका डोलकेशर दाहाल र आश्राङ्गका राजेश्वर घिमिरे (सुजन ) रहेका छन् भने सहसचिवमा माल्टाका केदारमान भ्लोन र प्युटारका कल्याण तामाङ चयन भए। कोषाध्यक्षमा भने विष्णुबहादुर बस्नेत चयन भएका छन्।
महाँकालमा दाहाल
महाँकाल गाउँपालिकामा खोमप्रसाद दाहालको सभापतित्त्वमा सर्वसम्मत चयन भएको छ। दाहाल वडा ५ को निर्वाचित वडाध्यक्षसमेत हुन्।
यसैगरी उपसभापतिमा पुरुषोत्तम घिमिरे र ठक्करप्रसाद घिमिरे चयन भएका छन्। सचिवमा बालकृष्ण तिमल्सिना र बाबुलाल स्याङ्तान चुनिए। सहसचिवमा केशव सुवेदी र सुभाष बजगाईँ रहेका छन्।
कोन्ज्योसोममा सरोज
कोन्ज्योसोम गाउँपालिकाको कांग्रेस सभापतिमा सरोज घलान तामाङ निर्वाचित भएका छन्। शुरुमा निर्वाचन हुने भनिए पनि पछि उनी सर्वसम्मत चयन भएका हुन्।
उपसभापतिमा सुरेन्द्र घलान र सत्यमान घिसिङ चयन भए। सचिवमा श्याम केसी र नन्दराज भोम्जन छानिए। सह-सचिव बाबुकाजी थिङ र सह-सचिव सोमबहादुर गोले छानिए।
गोदावरीमा प्रदीप जोशी
गोदावरी नगरपालिकाको कांग्रेस सभापतिमा प्रदीप जोशी सर्वसम्मत चयन भएका छन्।
उपसभापतिमा कवि बस्नेत र राजेशध्वज कार्की चयन भए। सचिवमा उपेन्द्र आचार्य र राजेन्द्र महर्जन चयन भएका छन्। यसैगरी सहसचिवमा वसन्तराम डंगोल र ज्ञानबहादुर थिङ चयन भएका छन्।
महालक्ष्मीमा दिवाकर
यता, महालक्ष्मी नगरपालिकामा दिवाकर सिलवाल सभापतिमा विजयी भएका छन्। सिलवालले ८२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी सुशील खड्काले ८० मत प्राप्त गरे। खड्का वर्तमान जिल्ला सभापति मदनबहादुर अमात्य निकट उम्मेद्वार हुन्।
अधिवेशनबाट उपसभापतिमा सुमन केसी र विवेककुमार कार्की निर्वाचित भए। सचिवमा नन्द केसी र विष्णुकुमार चन्द चुनिए। सहसचिवमा सञ्चिता परियार र अवशेष श्रेष्ठ निर्वाचित भए।
नगर पदाधिकारीमा १४ जनाको उम्मेद्वारी परेको थियो जसमा सुशील खड्का समूहको १ जना सहसचिवमात्र निर्वाचित भए।
महालक्ष्मीमा आफ्नो पक्षको हार भए पनि ललितपुरका स्थानीय तहमा चयन भएकाहरु सबै संस्थापन पक्षको भएको जिल्ला सभापति अमात्यले दाबी गरे। 'यहाँका सबै तहमा संस्थापन पक्षको जित भएको छ,' अमात्यले भने। सर्वसम्मत भएका ४ तहको नेतृत्व कुन पक्षका हुन् भनेर अहिल्यै नै भन्न नसकिने कांग्रेस ललितपुरका कार्यकर्ताहरु बताउँछन्।