PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

हत्या अभियोगमा सबैला नगरपालिकाका वडाध्यक्ष पक्राउ



हत्या अभियोगमा सबैला नगरपालिकाका वडाध्यक्ष पक्राउ

जनकपुरधाम : हत्या अभियोगमा धनुषाका एक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको सबैला नगरपालिका वडा नम्बर ४ मा सडक विस्तारको क्रममा भएको विवादमा स्थानीय सुमिन्त्रा देवी यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले सोही वडाका वडाध्यक्ष पथला भनिने कुशेश्वर ठाकुरलाई पक्राउ गरेको हो।

सो घटनामा ज्यान मार्ने उद्योगमा १० जना आरोपितमध्ये वडाध्यक्षलाई शनिवार नै पक्राउ गरिएको हो। गत बैशाख १३ सडक विस्तार गर्दा सिमासाल खोजबिनको क्रममा दुई पक्षबीच भएको विवादमा सुमिन्त्रा कुटपिटबाट घाइते भएकी थिइन्। उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा उनको मृत्यु भएको थियो।

सो घटनामा सुमिन्त्रासहित स्थानीय रामचन्द्र बिराजी, रितिक यादव, दीपक यादव र रञ्जित यादव समेत गम्भीर घाइते भएका थिए। तर, उपचारको क्रममा सुमिन्त्राको मृत्यु भएपछि परिवारजनले वडाध्यक्षसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमै कर्तव्य ज्यान उद्योगमा मुद्दा दर्ता गराएका थिए।

मुद्दाको अनुसन्धानको क्रममा मोरङ प्रहरीले उक्त मुद्दा धनुषाको इलाका प्रहरी कार्यालय सवैलालाई गत जेठ १६ गते पठाएका थिए। इप्रका सबैलामा मुद्दा आइसकेपछि फरार आरोपितमध्ये वडाध्यक्ष आफैँ हाजिर भएको इप्रका सबैलाका प्रमुख प्रहरी निरीक्षक राजेश सिग्देलले बताए। प्रहरी नियन्त्रणमा रहेका कुशेश्वरविरुद्ध सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक सिग्देलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell