PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

ठूला चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनमा के हुँदैछ पहल?



ठूला चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनमा के हुँदैछ पहल?

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर र आपूर्ति लगायतका विषयमा छलफल गरेको छ। मंगलवार सिंहदरवारमा बसेको समितिको बैठकले नजिकिँदै गरेको नेपालीहरुको महान चाड बडा दशैँ, शुभ दीपावली र छठ पर्वलाई मध्यनजर गर्दै दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर र आपूर्ति लगायतका विषयमा छलफल गरेको हो।

बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका कृषि सचिव डा गोविन्द प्रसाद शर्माले चाडबाडमा मासुको खपत अत्यधिक हुने भएकोले आयातित वस्तुहरुको परीक्षण गरिने बताए। उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भेँडा, खसी र च्याँग्रा लगायतको व्यवस्थापनमा सहजता पुर्‍याइरहेको भन्दै नागढुंगा नाकामा आयातित मासुजन्य जनवरहरु स्वस्थ छन् कि छैनन् भनेर निरीक्षण गरिने जानकारी दिए।

उनले यसका लागि पशु सेवा विभागलाई टिम खटाएर निरीक्षण गर्न लगाइएको पनि बताए।

कृषि सचिव शर्माले भने, ‘चाडपर्वमा माछा, मासुको खपत अत्यधिक मात्रामा हुने गर्छ। माछा, मासुको व्यवस्थापनको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि धेरै सहजता प्रदान गरिरहेको छ। भेडा, च्याँग्रा, खसीहरुको व्यवस्थामा र आपूर्ति गरिरहनुभएको छ, त्यो आयातित मासु स्वस्थ छ कि छैन भनेर हामीले निरीक्षण गर्नपर्छ, त्यसको लागि हामीले पशुसेवा विभागलाई नागढुंगा नाकामै मासुका लागि ल्याइएका जनावरहरु स्वास्थ छन् कि छैनन् भनेर निरीक्षण गर्न निर्देशन दिएका छौँ, पशुसेवा विभागबाट निरीक्षण हुन्छ।’

बैठकमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले खाने तेलको मूल्य अत्यधिक बढिरहेकोले यसबारेमा उत्पादक समिति र सरोकारवाला निकायहरु बसेर छलफल गर्नुपर्ने बताए। उनले मूल्य मात्र हेरेर निरीक्षण गर्दा उपभोक्ताहरु मारमा परिरहेको बताउँदै तेलको मूल्यसहित गुणस्तरलाई ध्यानमा राखेर निरीक्षण गर्नुपर्ने बताए।

महानिर्देशक पौडेलले भने, ‘अहिले बजारमा खाने तेलको मूल्य धेरै नै बढेको छ, यो अहिले मात्रै पनि होइन एक वर्ष अघिदेखि यही कुरा आइरहेको छ। त्यसैले तेल उत्पादकहरु र सरोकारवाला निकायहरु एक पटक बसेर छलफल गर्नुपर्छ।’

त्यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका विभागीय प्रमुख डिल्लीराज लम्सालले १ लाख ९ हजार ५१२ क्विन्टल चामल गोदाममा रहेको बताए। उनले ६६ हजार क्विन्टल धान कुटानी भइरहेको र गहुँ ९ हजार ६ सय ६४ क्विन्टल खाद्य विभागको गोदाममा रहेको बताए। त्यस्तै, विभागीय प्रमुख लम्सालले बाजुरा, मुगु र दार्चुला जिल्लामा खाद्यान्न ढुवानीमा केही समस्या रहेपनि विस्तारै आपूर्तिको काम अघि बढाइएको बताए।

यसैगरी, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक डालप्रसाद पुडासैनीले साउन, भदौ र असोजमा तरकारीको मूल्य बढ्नु स्वभाविक भएको बताए। उनले यी महिनामा तरकारीको सिजन सकिने र नयाँ तरकारी पनि नआइसक्ने भएकोले तरकारीको मूल्य बढ्न गएको स्पष्ट पारे।

उनले यसबेला वर्षाको सिजन भएकोले पनि बाढी, पहिरो जस्ता प्राकृतिक आपद्ले सडकमा समस्या पर्ने भएकोले तरकारीको मूल्य बढेको बताए। तरकारीको जथाभावि मूल्यलाई नियन्त्रण गर्नको लागि स्थानीय निकायले नै अनुगमन गर्नुपर्ने उनले माग राखे।

त्यस्तै, दुग्ध विकास संस्थानका महाप्रबन्धक रुद्रप्रसाद पौडेलले चाडबाडमा आपूर्ति व्यवस्थालाई कडा बनाउन पहल भइरहेको बताए। उनले असोज १ गतेदखि नै केही सामग्रीहरुमा छुट दिइरहेको बताए। उनले घ्यूमा प्रतिलिटर ५० रुपैयाँ र पनिर लगायतका केही सामग्रीहरुमा पनि छुट दिइएको बताए।

नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र शाहले अहिले निगमले ५ रुपैयाँ ६४ पैसा घाटामा पेट्रोलको कारोवार गरिरहेको बताए। उनले डिजेलमा २ रुपैयाँ ७२ पैसा घाटा, मट्टितेलमा प्रतिलिटर २० रुपैयाँ नाफा, हवाइ इन्धनमा ५ रुपैयाँ ४३ पैसा नाफा र सिलिण्डरमा ४९५ रुपैयाँ घाटा भइरहेको बताए।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी महाप्रबन्धक उर्मिला श्रेष्ठले चाडबाडमा नुनको खाँचो नपर्ने बताइन्। उनले अहिलेको अवस्थामा कम्पनीमा नुन १० महिनासम्मलाई स्टक रहेको र चिनी भने आवश्यक्ताअनुसार नरहेको बताइन्।

उनले चिनीको परिपूर्ति गर्नको लागि सरकारसँग कुरा भइसकेकोले केही दिनमै त्यसको सम्बोधन हुने बताइन्। उनले सुदूरपश्चिममा नुन र रासायनिक मललाई धेरै प्राथमिकता दिए पनि अभाव भएको भन्ने कुरा आइरहेकोले त्यसको परिपूर्ति गरिने बताइन्। सुदूरपश्चिम र कर्णाली प्रदेशमा नुनको अन्य जिल्लाहरुको तुलनामा सबैभन्दा धेरै भण्डारण गरिएको पनि उनले बताइन्।

महाप्रबन्धक श्रेष्ठले अहिले कर्पोरेशनसँग १ लाख ४२ हजार ३०९ मेट्रिक टन नुन रहेको बताउँदै यो मात्राले अझै १० महिना धान्ने बताइन्। -न्युज एजेन्सी नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell