PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

चुनाव भएको चार वर्षपछि महोत्तरीको एक वडामा पुनः मतगणना हुँदै



चुनाव भएको चार वर्षपछि महोत्तरीको एक वडामा पुनः मतगणना हुँदै
फाइल फोटो।

जनकपुरधाम : महोत्तरीको एक स्थानीय तहको वडामा पुनः मतगणना हुने भएको छ। जिल्लाको मनरा शिसवा नगरपालिका वडा नम्बर-१० मा वडाध्यक्ष पदका लागि पुनः मतगणना गर्न उच्च अदालत जनकपुरका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त ईजलासले दिएको आदेशलाई सर्वोच्चले ४ वर्षपश्चात सदर गरेको हो।

अदालतको २०७५ असार २१ गतेको आदेश अनुसार विवादित विषयको दोहोर्‍याएर मतगणना गर्न आगामी कात्तिक ७ गते बिहान ११ बजेदेखिको समय निर्धारण गरिएको छ।

२०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा मनरा शिसवा नगरपालिकामा ८ गते नतिजा प्रकाशित गरिएको थियो। राजपाले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेद्वारी दिएका पान छाप रहेको रमेश कुमार रायले २६७ मत ल्याए।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अरुण कुमार चौधरीको २६४ मत ल्याएका थिए। यद्यपि निर्वाचन अधिकृत आमबहादुर बाँनियाले बदर मतहरुमध्येबाट ३ मतलाई चौधरीको पक्षमा पारेर उनको हकमा पनि २६७ मत पुर्‍याएको आरोप लागेको थियो।

दुवै जनाको २६७/२६७ मत भएपछि गोलाप्रथाको माध्यमबाट अन्ततः अरुण चौधरीलाई निर्वाचित गरियो। त्यसपछि रमेश रायले अदालतमा मुद्दा दिएका थिए।

सोही मुद्दाको हकमा उच्च अदालतले २०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको थियो। उच्च अदालतको यस्तो आदेश पछि अरुण कुमार चौधरी सर्वोच्च पुगेका थिए।

सर्वोच्चले मुद्दाको सुनुवाई गर्दै २०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई सदर गरिदियो।

त्यसपछि पुनः मतगणनाको मिति निर्धारण गर्नुपर्नेमा कोरोना महामारीका कारण लकडाउन भएपछि मिति तोक्न सकिएको थिएन। अन्ततः आइतवार दोहोर्‍याएर मतगणना गर्न आगामी कात्तिक ७ गते बिहान ११ बजेदेखिको समय निर्धारण गरिएको छ।

मनरा शिसवा नगरपालिका-१० को वडाध्यक्ष पदमा ९ जना उम्मेद्वारहरु चुनावी मैदानमा उत्रेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell