PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

काठमाडौं महानगरको कांग्रेस सभापतिमा प्रकाशमान भर्सेस भीमसेनदास!



काठमाडौं महानगरको कांग्रेस सभापतिमा प्रकाशमान भर्सेस भीमसेनदास!

काठमाडौं : शनिवार नेपाली कांग्रेस काठमाडौंको नगर अधिवेशन हुँदैछ। देशकै राजधानी रहेको काठमाडौं महानगरको नगर अधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ।

काठमाडौं महानगरमा तरुण दलका केन्द्रीय सदस्यसमेत रहिसकेका निलकाजी शाक्यले उम्मेद्वारी घोषणा गरेका छन्। काठमाडौं महानगर वडा २५ का वडाध्यक्षसमेत रहेका शाक्य नेता प्रकाशमान सिंह निकट हुन्।

२०३३ सालबाट नै कांग्रेस राजनीतिमा समय खर्चेका उनी प्रकाशमान पक्षबाट आधिकारिक उम्मेद्वार भएको बताइएको छ। २०४३ सालमा राष्ट्रिय विद्यार्थी युनियन, पब्लिक युथ क्याम्पसमा सभापति भएर काम गरेका उनी आरसीटी क्लबको फुटबल खेलाडी हुँदै बक्सिङ, ब्याडमिन्टन र टेबल टेनिसको खेलाडीसमेत हुन्। कलाकारितामा समेत सक्रिय रहेका शाक्यले आफूसँग विकास गर्नका लागि विभिन्न अनुभव रहेको बताएका छन्।

‘थुप्रै देशको भ्रमणले माटो र मुटु बुझ्न सहयोग गरेको छ। विकासका रेखा कोर्न यी सबै अनुभव उत्प्रेरक हुने विश्वास छ। रुखको छायाँमा रही जनताको सेवामा समर्पित हुने दृढ इच्छा पलाएको छ। काठमाडौं भनेको देशको केन्द्र हो। देशको छायाँ यहाँको माटोमा प्रतिविम्वित हुन्छ,’ उम्मेद्वारी घोषणा गर्दै उनले भनेका छन्।

त्यसैगरी, प्रगतिमान रञ्जितले पनि काठमाडौं महानगरको सभापतिमा दाबेदारी पेश गरेका छन्। रञ्जित प्रकाशमान निकट भएपनि पछिल्लो पटक भीमसेनदास प्रधानसँग नजिकिएका छन्। २०४४ सालबाट नेविसंघमार्फत कांग्रेसको राजनीतिमा प्रवेश गरेका उनी नेपाल तरूण दल काठमाडौं महानगर समितिको संस्थापक सभापति हुन्। आफू सभापतिमा निर्वाचित भएमा अहिलेको पुरानो पुस्ता र नयाँ पुस्तालाई जोड्दै स्थानीय निर्वाचनमा पार्टीलाई महानगरमा विजयी गराउने प्रतिवद्धता रञ्जितले पेश गरेका छन्।

‘तपाईहरूको विश्वासको मतले मेरो काँधमा सभापति पद आयो भने यस महानगर सभापतिको हैसियतले कांग्रेसको पहिलो पुस्ता र अहिलेका नव पुस्तालाई जोड्दै पार्टीलाई सुदृढ र संगठित गर्दै आगामी स्थानीय निर्वाचनमा पार्टीलाई विजयी गराउने प्रतिवद्धता व्यक्त गर्दछु,’ उम्मेद्वारी घोषणा गर्दै उनले भनेका छन्।

काठमाडौंको कांग्रेस राजनीतिमा प्रकाशमान र भीमसेनदास पक्षको टक्कर पर्दै आएको छ। यसपटकको अधिवेशनमा काठमाडौंका अन्य नगरसहित काठमाडौं महानगरमा दुई पक्षबीच टक्कर पर्ने देखिएको छ।

१० वटै स्थानीय तहमा नगर अधिवेशनको तयारी पूरा भएको काठमाडौं कांग्रेसका जिल्ला सभापति सबुज बानियाँले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell