काठमाडौं : नेपाली कांग्रेस मुस्ताङको सभापतिमा रोमी गौचन थकाली चयन भएका छन्। हिजो भएको जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत जिल्ला सभापतिमा चयन भएको जिल्ला निर्वाचन अधिकृत शिवराज वाग्लेले जानकारी दिए।
'हिजो राति अबेर जिल्ला अधिवेशन सम्पन्न भएको हो। जिल्ला सभापतिमा सर्वसम्मत रुपमा रोमी गौचन थकाली चयन हुनुभयो,' निर्वाचन अधिकृत वाग्लेले पहिलोपोस्टसँग भने। वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिने थकाली पूर्वमन्त्रीसमेत हुन्।
मुस्ताङमा गत १२ गते क्षेत्रीय अधिवेशन भएको थियो। दुई प्रदेश क्षेत्र रहेको मुस्ताङमा प्रदेश 'क'बाट टसी गुरुङ र 'ख'बाट नुर्बु गुरुङ प्रदेश सभा सभापतिमा चयन भए। जिल्ला अधिवेशन र प्रदेश अधिवेशनबाट सबै पदाधिकारी, सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु र प्रदेश अधिवेशन प्रतिनिधिहरु सर्वसम्मत चयन भएको वाग्लेले बताए।
शुक्रवारबाट कांग्रेसको हिमाली जिल्लाको अधिवेशन शुरु भएको हो। दशैंअघि हिमाली जिल्लाहरुको अधिवेशन सकाउने लक्ष्य कांग्रेसले लिएको छ।