वीरगंज : पर्सा प्रहरीले स्रोत नखुलेको साढे १५ लाख रुपैयाँसहित दुई जना भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ। मोटरसाइकलमा सवार उनीहरुले हेलमेटमा ५/५ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरुमा भारत पूर्वी चम्पारण बसतपुर निवासी २५ वर्षीय विक्रम पटेल, मोतिहारी थाना भेलाही निवासी २९ वर्षीय मुकेश पटेल र पर्सा धोविनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुर निवासी २३ वर्षीय बलिराम पटेल रहेका छन्।
पूर्व सूचनाको आधारमा प्रहरीले वीरगंज-२५ श्रीसियाको छोटी भन्सार नाकामा चेकिङको क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए। प्रहरीले ना ६० प ५९९८, ना ४१ प १०४८ र ना ६४ प ८३५९ नम्बरको मोटरसाइकल बरामद गरेको छ।
उनीहरूलाई बैंक तथा वित्तीय ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
