
जनकपुरधाम : जनकपुर बम काण्डको मुद्दामा मुख्य योजनाकार संजय साह (टकला)को जन्मकैदको फैसला जनकपुर उच्च अदालतले उल्टाएको छ।
जिल्ला अदालत धनुषाले साहलाई सुनाएको जन्मकैदको फैसलालाई उच्च अदालतले ७ वर्षमा सीमित गर्ने फैसला गरेको हो।
जिल्ला अदालतको फैसलाविरुद्ध अभियुक्त साहले उच्च अदालत जनकपुरमा गरेको रिटमाथि सुनुवाई सुरु गर्दै आइतबार साँझ न्यायाधीशद्वय धीरबहादुर चन्द र मेश ढकालको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो।
उच्च अदालतका राजिष्टार खड्कराज अधिकारीका अनुसार साहमाथि ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान मुद्दा चलेको छ। जसमा ज्यान मार्ने उद्योगमा जिल्ला अदालतले गरेको जन्मकैदको फैसलालाई ७ वर्षमात्रै सजाय हुने फैसला अदालतले सुनाएको हो।
साहमाथि रहेको अर्को मुद्दा कर्तव्य ज्यानमा षड्यन्त्र गरेर घटना गराएको अभियोगमा कसुरदार ठहर गरिएको छ। यद्यपि उक्त मुद्दामा सजाय निर्धारण गरिएको छैन। यो मुद्दामा अगामी कातिक १५ गते बहस हुने रजिष्टार अधिकारीले बताए।
२०६९ साल वैशाख १८ गते मिथिला राज्यको माग गर्दै जनकपुरधामको रामानन्द चोकमा धर्ना बसेका नागरिकलाई लक्षित गरी शक्तिशाली बम विष्फोट गराइएको थियो। घटनामा ५ जनाको ज्यान गएको थियो भने ३३ जना घाइते भएका थिए।