काठमाडौं : अभिनेत्री निता ढुंगानाको निर्देशनमा बनेको ‘जय जय निलकण्ठ’ बोलको भजन सार्वजनिक भएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा भगवान शिवको भजन सार्वजनिक गरिएको हो।
भजनको शब्द तथा कन्सेप्ट ज्योतिष तथा कलाकार हरिहर अधिकारीले तयार पारेका हुन्। विशाल निरौलाको संगीत रहेको गीतमा गायक सुगम पोखरेलको स्वर सुन्न सकिन्छ।
निताले निर्देशन गरेको भजनको भिडियोमा हरिहर अधिकारीका साथै निताको नै अभिनय देख्न सकिन्छ।
निता फिल्म्सबाट बनेको भिडियोमा सञ्जय लामाको छायाङ्कन र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। यसै भजनमार्फत निताले निर्देशनमा डेब्यू गरेकी छिन्। पहिलो निर्देशन भएतापनि आफूले राम्रो गर्ने कोशिस गरेको निताले बताइन्।
साउन महिना अर्थात सोमवार भनेपछि भगवान शिवजीको विशेष दिन मान्ने गरिन्छ। हरिहरलाई पनि सोमवार भनेपछि शिव भगवानप्रतिको माया र स्नेह प्रकट हुँदो रहेछ। साउन महिनाको सेरोफेरोमा शिवप्रति आएको भावना महसुस गरेर यो भजन लेखिएको हरिहरले सुनाए। भगवानको आस्थालाई मान्दै भगवानमा लगानी गर्न नडराएको समेत उनको भनाइ छ।
यसअघि पनि निता फिल्म्सबाट निताकै स्वरमा गणेश भजन पनि सार्वजनिक भइसकेको छ।