PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

अब रिलिज हुने नेपाली फिल्मलाई चलचित्र विकास बोर्डको राहत कति?



अब रिलिज हुने नेपाली फिल्मलाई चलचित्र विकास बोर्डको राहत कति?

काठमाडौं : असोज २१ गतेबाट नेपालभरिकै सिनेमा हलहरु खुल्ने भएका छन्। कोरोना महामारीले थला परेको क्षेत्रलाई चलायमान बनाउन अहिले सम्बन्धित संस्थाहरु अघि बढिरहेका छन्।

यसै विषयमा चलचित्र विकास बोर्डले आज सिनेमा हल सञ्चालनबारे पत्रकार सम्मेलन गरेको थियो। नेपाल कलाकार संघ, नेपाल कलाकार निर्माता संघ र चलचित्र प्राविधिक संघ लगायतका सरोकारवाला निकायको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो, अभिनेता भुवन केसी पनि उपस्थित थिए।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले घटस्थापनादेखि हल खुलेको जानकारी दिँदै प्रदर्शन हुने नेपाली फिल्महरुलाई सहयोग गर्ने बताए। साथै, फिल्म क्षेत्रलाई माथि उकास्न सबैलाई सामुहिक रुपमा लाग्न उनले आग्रह गरे।

‘म पनि चलचित्र क्षेत्रकै मान्छे हुँ। त्यसैले आफूले सकेको सहयोग गर्न कुनै कसर छोड्दिनँ। चलचित्र विकास बोर्डको पनि २० महिनादेखि आम्दानी शुन्य छ। विदेशी फिल्म प्रदर्शनबाट आएको शुल्कले बोर्ड चल्ने गर्छ। अहिले बाँकी रहेको पैसाले सहयोग गरिरहेको छु,’ उनले सुनाए।

चलचित्र विकास बोर्डले असोज २१ गतेबाट रिलिज हुने फिल्मको प्रचार छपाई सामग्री र प्रचारप्रसारमा शुल्क नलाग्ने निर्णय गरेको छ। साथै, तत्काल रिलिज हुने फिल्मले लगभग सात लाख बराबरको सहयोग पाउने अध्यक्ष दाहालले जानकारी दिए। अहिलेको लागि यो राहत प्याकेज ३ महिनासम्म लागू हुनेछ।

साथै विकास बोर्डले फिल्म छायांकनमा समेत प्रोजेक्ट बिमा उपलब्ध गराउने भएको छ। अब छायांकनमा जाने फिल्मले बोर्डबाट डेढ लाखसम्मको ‘प्रोजेक्ट बिमा’ पाउनेछन्।

अर्थ मन्त्रालयसँग प्रोजेक्ट लोनको कुरा पनि अगाडि बढिरहेको दाहालको भनाई छ। गठबन्धन सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको ‘राहत प्याकेज’ अन्तर्गत कोरोनाका कारण फिल्म क्षेत्रमा भएको क्षतिको वितरण बोर्डसँग मागेको छ। छिट्टै सरकारले चलचित्र क्षेत्रसँग सम्बन्धित राहत प्याकेज ल्याउनेमा आशावादी रहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell