PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

महोत्तरीका बजारमा चाडपर्व लक्षित अनुगमन तीव्र, म्याद गुज्रेका खाद्य सामग्री नष्ट



महोत्तरीका बजारमा चाडपर्व लक्षित अनुगमन तीव्र, म्याद गुज्रेका खाद्य सामग्री नष्ट

जनकपुरधाम : नजिकिँदै गरेको बडा दशैँ, दिपावली र छठ पर्वलाई लक्षित गरेर महोत्तरीमा बजार अनुगमनलाई तीव्र पारिएको छ। सो क्रममा महोत्तरीको जलेश्वर, सम्सी, रामगोपालपुर, गौशाला र औरहीलगायतको बजारमा अनुगमन गरी पसलहरुमा फेला परेका म्याद गुज्रेका ७८ हजार ८२५ रुपैयाँ बराबरको विभिन्न खाद्य सामग्रीहरु नष्ट गरिएको छ।

महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, भेटेरेनरी अस्पताल, उपभोक्ता समिति, उद्योग वाणिज्य संघ, सुरक्षा टोलीलगायतको टोलीले ति सामग्री नियन्त्रणमा लिई नष्ट गरेको हो। टोलीले बिस्कुट, जुस, चिसो पेय पदार्थ, घिउ, तेल, मसला, पाउडर दुध, ह्याण्ड वासलगायतका विभिन्न म्याद गुज्रेका सामग्री सम्बन्धित पसलहरुलाई पहिलो पटकलाई चेतावनी दिँदै नष्ट गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले अझै केही स्थानमा अनुगमन गर्न बाँकी रहेकोमा यसलाई नियमित गरिने जानकारी दिए।

उनले भने, ‘पहिलो पटकलाई चेतावनी दिइए पनि पुनः सोही पसलहरुमा म्याद गुज्रेको सामग्री भेटिए कानुन बमोजिम सजाय हुनेछ। बजारमा हाललाई मूल्य र म्याद हेर्ने कार्य भइरहे पनि सम्सी र गौशालालगायतका विभिन्न स्थानमा पुग्दा पसलहरु बन्द गरेर भागेको पाइएकोमा त्यस्ता पसलहरु शंकाको घेरामा रहेको र जुनसुकै बेला पनि उक्त पसलहरुमा छड्के जाँच गरी गलत भेटिएको खण्डमा कारबाही प्रकृयामा लगिने छ।’

उनले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य सामग्रीमा म्याद र मूल्यले प्रभाव पार्ने भएकोले जनस्वास्थ्यसँग खेलवाड गर्नेलाई कानुन अनुसार कारबाही गर्ने समेत बताए। न्यौपानेले गडबडी नहुने पसल सञ्चालकहरु डराउनु पर्ने कुनै कारण नरहेको र झनै पसलमा केही समस्या नदेखिए त्यस्ता पसलमा जनताको झनै विश्वास बढ्ने भएकोले अनुगमन टोलीलाई सहयोग गर्न व्यापारीहरुलाई आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell