PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले गर्‍यो बर्खास्त



नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले गर्‍यो बर्खास्त

काठमाडौं : सर्वोत्तम सिमेन्टको सेयर विवादमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको छ। मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गरेको हो।

न्यायिक छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले ढुंगानालाई बर्खास्त गरेको हो। एक महिना अघिको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। 

छानबिन समितिमा नेपाल कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का र विज्ञ सदस्यका रूपमा नारायण प्रसाद पौडेल समेत रहेका थिए। सो समितिले दुई साताअघि अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिवेदन दिएको थियो। त्यो प्रतिवेदनमा ढुंगानाले गैरकानुनी रुपमा सेयर खरिद गरेको उल्लेख गरेको थियो। त्यही आधारमा मंगलवारको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई निलम्बन गरेको हो।

बुक बिल्डिङ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको १० हजार कित्ता सेयर ढुंगानाले आफ्नै छोरीका नाममा लिएका थिए।

अमेरिका बस्ने छोरी रेविका ढुंगानाका नाममा सेयर लिएको सार्वजनिक भएपछि अर्थ मन्त्रालयले संस्थागत रुपमा धितोपत्र बोर्डका नाममा स्पष्टीकरण सोधेको थियो। व्यक्तिले सेयर लिएको प्रकरणमा संस्थागत स्पष्टीकरण सोधेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको समेत आलोचना भएको थियो।

यो आलोचनापछि मन्त्रालयले समेत छानबिन समिति बनाएको थियो। यही प्रकरणमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीइओले राजीनामा दिएका थिए। तर, ढुंगाना भने पद बचाउन शक्ति केन्द्र धाएका थिए।

ढुंगानालाई केपी शर्मा ‌ओलीको सरकारले बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो। ढुंगाना नियुक्त भएदेखि नै कर्पोरेट क्षेत्रमा ‘बदनाम’ थिए। कुनै नयाँ कम्पनी सेयर जारी गर्ने प्रक्रियामा जाँदा त्यसमा उनले आफ्नो हिस्सा खोज्ने गरेका थिए। बुक बिल्डिङका लागि जाने कम्पनीदेखि मूल्यांकन तथा नयाँ इन्भेष्टमेन्ट कम्पनीसम्म उनले सेयर माग्ने गरेका थिए।

त्यति मात्रै नभई उनले ब्रोकर लाइसेन्स दिने प्रक्रियासमेत अगाडि बढाएका थिए। वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया रोकेर तजबिजीमा ब्रोकरलाई लाइसेन्स दिन खोजेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell