PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति



सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं : बैंकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगेको अभियोगमा पक्राउ परेका पूर्व सभासद तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंले तामाङलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको हो।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङसहित सिभिलका १२ जना कर्मचारीलाई सोमवार साँझ पक्राउ गरेको हो। प्रहरीले सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठ, सहजकर्ता प्रबन्धक भगवान बहादुर सिंह, जुनियर असिस्टेन्ट मेनेजर मायोनानी महर्जन, जुनियर असिस्टेन्ट मेनेजर एलिना तुलाधर, जुनियर अधिकृत शंकर प्रसाद पाठकलाई पक्राउ गरेको हो।

त्यस्तै, असिस्टेन्ट संगित श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौस्तुभ केतन ढुंगाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजय विक्रम शाह र पूर्व लेखा समिति सदस्य हरिहर लामिछाने पनि पक्राउ परेका हुन्।

तामाङ सञ्चालक रहेको सिभिल सहकारीबाट करौडौँ रुपैयाँ ठगी भएको र त्यसमा उनको प्रत्यक्ष संलग्नताको आरोप छ। केही समयअघि निक्षेपकर्ताहरुले आफू ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। सोमवारसम्म ७५ जनाभन्दा धेरैले आफू सिभिल सहकारीबाट ठगिएको उजुरी दिएका थिए। मंगलवार थप ६२ जनाले उनीविरुद्ध उजुरी दिएका छन्। हालसम्म उनीविरुद्ध १३७ जनाले उजुरी दिएका छन्।

सिभिल सहकारीमा हाल ३ हजार बढी निक्षेपकर्ता रहेकोमा अहिले २२ सय बढी निक्षेपकर्ता सक्रिय रहेको देखिएको छ। १ लाखदेखि १ करोड माथिसम्म निक्षेप राख्दा ठगिएको भन्दै प्रहरीकहाँ लामो समयदेखि उजुरी पर्दै आएको हो। नेकपा (एमाले)ले समानुपातिक कोटामा उनलाई संविधानसभा सदस्य बनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell