PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

पर्सामा मनाइयो ६६ औँ प्रहरी दिवस, हरेक नागरिक बर्दी नलगाएका प्रहरी बन्नुपर्छ : प्रजिअ



पर्सामा मनाइयो ६६ औँ प्रहरी दिवस, हरेक नागरिक बर्दी नलगाएका प्रहरी बन्नुपर्छ : प्रजिअ

वीरगंज : पर्सामा पनि ६६ औँ प्रहरी दिवस मनाइएको छ। पर्सा प्रहरीको आयोजनामा वीरगंजमा भएको कार्यक्रममा प्रमुख अतिथि तथा पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले शहीदको शालिकमा पुष्प गुच्छा अर्पण गर्दै शहीद परिवारप्रति समवेदना पनि प्रकट गरे।

जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा आयोजित समारोहमा प्रजिअ घिमिरेले भने, ‘देशमा शान्ति सुरक्षा, अमनचयन कामय गर्दा ज्यान गुमाएका प्रहरीका परिवारको क्षतिपूर्ति जे गरे पनि पूर्ति गर्न सकिँदैन, तर उहाँहरु प्रति हाम्रो सदैव सम्मान रहनेछ। उहाँहरुको योगदान अविस्मरणीय रहने छ।’

उनले हरेक नेपाली नागरिकले बर्दी नलगाएको सिपाही जस्तै काम गर्नुपर्ने पनि औँल्याए।

‘बर्दी लगाएको पुलिस मात्रै पुलिस हुँदैन, बर्दी नलगाएको हरेक नागरिक पनि सिपाही बन्नु पर्छ’, उनले भने, ‘देशमा शान्ति सुरक्षा र अपराध न्यूनीकरणमा सहयोग गर्न सदैब सबै नागरिकले प्रहरी जस्तै आफूलाई उभ्याउनु पर्छ।’

सबै तहबाट व्यत्ति-व्यक्ति मिलेर देशमा शान्ति सुव्यवस्था कायम गर्न मद्दत गर्नुपर्ने उनको सुझाव थियो। कतै गलत काम भइरहेको छ भने त्यसको सूचना सुरक्षा निकायमा दिन पनि उनले अपिल गरे।

कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले पर्साको शान्ति सुरक्षा तथा कोभिड नियन्त्रणमा पर्सा प्रहरीले यहाँको सरोकारवाला निकाय तथा जनतासँग मिलेर गरेको कार्यको लागि सबैप्रति कृतज्ञता व्यक्त गरे। उनले पर्सामा प्रहरीप्रति जनताको विश्वास पछिल्लो समय शान्ति सुरक्षामा गरेको काम देखेर बढेको भन्दै आगामी दिनमा पनि सशक्त भएर प्रहरी ऐन अनुसार आचरण अपनाएर काम गर्न सुझाव दिए।

प्रहरी ऐनविपरित काम गरेका २२ जना सुरक्षाकर्मीलाई विभागीय कारबाही गरिएको उनले बताए। सोही अवसर पारी नगदसहित पर्सामा खटेर उत्कृष्ट काम गरेका ७ जना सुरक्षाकर्मीहरुलाई सम्मान गरिएको थियो। त्यसैगरी, पर्सामा प्रहरी चौकी, भवन तथा अन्य सहयोग गरेवापत ११ जना समाजसेवीलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell