PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

कांग्रेस क्षेत्रीय प्रतिनिधिमा निर्वाचित शिक्षक, कर्मचारीलाई कात्तिक ७ सम्म राजनीतिक कार्यमा नलाग्न उच्च अदालतको आदेश



कांग्रेस क्षेत्रीय प्रतिनिधिमा निर्वाचित शिक्षक, कर्मचारीलाई कात्तिक ७ सम्म राजनीतिक कार्यमा नलाग्न उच्च अदालतको आदेश

काठमाडौं : सिन्धुपाल्चोक कांग्रेसबाट क्षेत्रीय प्रतिनिधि बनेका शिक्षक, प्राध्यापक र कर्मचारीले तत्कालका लागि राजनीतिक क्रियाकलाप गर्न नपाउने भएको छ। उच्च अदालत पाटनले क्षेत्रीय प्रतिनिधि बनेका शिक्षक, प्राध्यपक र कर्मचारीलाई राजनीतिक कार्यमा नलाग्न भन्दै अल्पकालीन आदेश जारी गरेको हो।

सुनिल बोहराले दायर गरेको रिटमा बुधवार उच्च अदालतका न्यायाधीश महम्मद जुनैद आजादको एकल इजलासले उक्त आदेश दिएको हो। कांग्रेसको जारी अधिवेशनमा सिन्धुपाल्चोकका विभिन्न स्थानबाट क्षेत्रीय प्रतिनिधि चुनिएर आएका व्यक्तिहरु शिक्षक, कर्मचारी र प्राध्यापक भएको उल्लेख गर्दै प्रतिनिधि भएकालाई हटाउन र प्रतिनिधि बन्ने बनाउने कार्यलाई रोक्न माग गरिएको थियो।

अदालतले अन्तरिम आदेशबारे छलफल गर्न दुबै पक्षलाई कात्तिक ७ गते अदालतमा बोलाएको छ।

'निवेदकले माग गरेको अन्तरिम आदेश सम्बन्धमा विचार गर्दा, दुबै पक्षका छलफलबाट निर्णय लिन न्यायोचित हुने देखिँदा मिति २०७८/७/७ मा छलफल पेशी तोकी दुशै पक्षलाई सोको जानकारी दिई नियमानुसार गर्नु। उक्त मितिसम्म विपक्षीहरुलाई राजनीतिक कार्यहरुमा सामेल नगर्नु नगराउने भनी विपक्षीहरुको नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ,' आदेशमा भनिएको छ।

निवेदक बोहराले कांग्रेस सिन्धुपाल्चोकको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित त्रिवि नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रिय विभाग कीर्तिपु्रमा कार्यरत स्थायी उपप्रध्यापक प्रेमध्वज लामा तथा स्थायी शिक्षकहरु वेदविक्रम कार्की, रिताकुमारी शर्मा बोहरा, सुस्मा पराजुली, स्वस्थानी थापा बोहरा, मुना थापा, अम्बरबहादुर बोहरा, तुलसीराम श्रेष्ठ, रमेश बोहरासमेत १९ व्यक्ति तथा निकायलाई विपक्षी बनाएका छन्। 

अन्तरिम आदेश माग्दै बोहराले उनीहरु निर्वाचित पदमा पुन निर्वाचन गर्नुपर्ने वा निकटतम मत ल्याउनेलाई विजेता घोषणा गर्नसमेत माग गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell