PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

नारी शक्तिकी प्रतीक माता राजदेवीकै मन्दिरमा नारीलाई प्रवेश निषेध



सुमित मिश्र

नारी शक्तिकी प्रतीक माता राजदेवीकै मन्दिरमा नारीलाई प्रवेश निषेध

जनकपुरधाम : हुन त हामी अहिले प्रत्येक क्षेत्रमा लैंगिक समानताको कुरा उठाइरहेका हुन्छौँ। कुनै-कुनै क्षेत्रमा महिलाले समानताको अनुभूति समेत गर्न पाएका छन्।

यद्यपि, जनकपुरधामको एक मन्दिरमा दशैँको १० दिन पुरुष श्रद्धालुहरुले साक्षात देवीको दर्शन गर्न पाएपनि महिलाहरुलाई भने आदी शक्ति स्वरुपा माता राजदेवी जो नारी शक्तिकी प्रतिक हुन्, उनकै पूजा गर्नबाट बन्देज लगाइन्छ।

जनकपुरधामस्थित प्रसिद्ध राजा जनककी कुलदेवी समेत मानिएकी माता राजदेवीको दर्शनका निम्ति दशैँको दश दिन पुरुष श्रद्धालुहरु त मन्दिरभित्र प्रवेश गरी दर्शन गर्न पाउँछन् तर महिलाहरुलाई भने दश दिनसम्म झ्यालबाटै पूजा आरधना गर्ने व्यवस्था मिलाइन्छ। अन्य दिनहरुमा पूजा गर्न पुग्ने महिला वा पुरुष श्रद्धालु जो कोहीलाई माता राजदेवीको मन्दिर भित्र प्रवेश गर्न दिइएपनि दशैँको घटस्थापनादेखि विजया दशमीसम्म महिला श्रद्धालुलाई झ्यालबाटै पूजा गर्न लगाइन्छ।

यसबारे राम मन्दिर एवं राजदेवी मन्दिरका महन्थ रामगिरीले आफूहरुले परम्परादेखि चल्दै आएको यो विधिलाई तोड्न नसक्ने बताउँछन्। भन्छन् ‘वर्षौँदेखि चल्दै आएको परम्परालाई हामीले तोड्न मिल्दैन।’

दशैँको दश दिनसम्म नारी शक्तिको अलग-अलग स्वरुपलाई निष्ठापूर्वक पूजा आरधना गरिएपनि आजको युगमा पनि उनीहरुलाई मन्दिरभित्र प्रवेश निषेध गरिनुले विभेदको ठूलो नमूना प्रस्तुत गरिरहेको महिला अधिकारकर्मीहरुको भनाइ रहेको छ। नेपालको कानुनमै महिला र पुरुषबीच कुनै प्रकारको भेदभाव गरिने छैन भनेर उल्लेख गरिएपनि जातीयता र लिंगको आधारमा गरिएको विभेदले आफूलाई छुब्ध बनाएको अधिवक्ता रेखा झाले बताइन्।

उनले भनिन्, ‘नेपालको कानुनले स्पष्ट गरिदिएको छ तर महिलाप्रतिको सामाजिक असमानताको दृष्टिकोणले गर्दा महिलाहरु पूजापाठबाट समेत वञ्चित हुँदै आइरहनुपरेको छ।’

अधिवक्ता झालगायतका महिला अधिकारकर्मीहरुले यस कुरितीविरुद्ध पटक पटक आवाज उठाउँदै आइरहेका छन्।

समाजमा रहेका यस्ता लैंगिक समानताविरुद्धको कुप्रथालाई निष्तेज पारिनुपर्ने महिला अधिकारकर्मीहरु बताउँछन। नारी शक्तिलाई पूजा गर्ने स्थानमा नारीलाई नै प्रवेशमा निषेध गरिनु उनीहरुको अपमान गरिनु सरह रहेको उनीहरुको तर्क रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell