PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अनिल श्रेष्ठको निबन्धसङ्ग्रह ‘टाइगर हिलकी पुनम’को परिचर्चा



अनिल श्रेष्ठको निबन्धसङ्ग्रह ‘टाइगर हिलकी पुनम’को परिचर्चा

काठमाडौं : कवि एवं निबन्धकार अनिल श्रेष्ठको निबन्धसङ्ग्रह ‘टाइगर हिलकी पुनम’को तेस्रो संस्करण प्रकाशित भएको अवसरमा शनिवार पुस्तक परिचर्चा कार्यक्रमको आयोजना गरिएको छ। बालवाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा भएको उक्त कार्यक्रममा समीक्षक एवं स्रष्टाहरूले श्रेष्ठको निबन्धमा पाइने वैचारिक स्पष्टता, काव्यात्मकता, भाषिक मिठास र मनोरम शैलीका कारण एउटा उचाइ प्राप्त गरिसकेको बताउँदै अब थप उचाइका लागि साधनाको आवश्यकतामा जोड दिए।

कार्यक्रममा समालोचक प्राडा रमेश प्रसाद भट्टराईले विश्वमा निबन्ध र यात्रानिबन्धको क्षेत्रमा देखिएको पछिल्लो विकास र प्रवृत्तिको चर्चा गर्दै हामी पनि अब निबन्ध ‘टेबुल गफ’मात्रै हो भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताए। उनले अनिल श्रेष्ठका निबन्धहरू नेपाली साहित्यको सन्दर्भमा सशक्त भएको धारणा राख्दै अझै साधना गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

अर्का समालोचक डा बिन्दु शर्माले अनिल श्रेष्ठका निबन्धहरूमा देखिने पात्रहरूबारे विस्तारमा उल्लेख नहुँदा पाठकलाई केही नपुगेजस्तो लाग्ने विचार राख्दै आगामी लेखनमा त्यसतर्फ ध्यान दिन आग्रह गरे। निबन्धकार नवीन विभासले रोल्पामा जनादेश जान थालेपछि आफूले अनिल श्रेष्ठलाई चिनेको बताउँदै उनका निबन्धमा स्थानीय रङ पाइने उल्लेख गरे।

समालोचक तेजविलास अधिकारीले अनिल श्रेष्ठको परिचय र समग्र योगदानबारे चर्चा गरेका थिए। निबन्धकार अनिल श्रेष्ठले आफ्नो लेखनयात्राबारे प्रकाश पार्दै आलोचनाबाट आफूलाई खार्न र अघि बढ्न थप ऊर्जा प्राप्त हुने गरेको उल्लेख गरे।

कार्यक्रमको अध्यक्षता गर्दै बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष तथा समालोचक प्रमोद प्रधानले अनिल श्रेष्ठलाई चिन्न पुस्तक पढेर मात्र नहुने बताउँदै त्यसबाहिर पनि सूक्ष्म अध्ययन गर्नुपर्ने आवश्यकता औल्याए।

पुस्तक विवेक सिर्जनशील प्रकाशन प्रालिले प्रकाशित गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell