PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

मोतिपुर औद्योगिक क्षेत्रको झडप : घाइतेहरुको विभिन्न अस्पतालमा उपचार हुँदै



मोतिपुर औद्योगिक क्षेत्रको झडप : घाइतेहरुको विभिन्न अस्पतालमा उपचार हुँदै
फोटो : प्रमोद नेपाली/फेसबुक।

काठमाडौं : बुटवल उपमहानगरपालिकाको मोतिपुर औद्योगिक क्षेत्रमा आइतवार भएको झडपमा घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। झडपमा घाइते भएका ७ प्रहरी जवान र १७ प्रदर्शनकारीहरुको मेडिकल कलेज भैरहवा र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

झडपमा गम्भिर घाइते भएकाहरु गुल्मीका जंगबहादुर परियार, पाल्पाका ३५ वर्षीय गंभिर सिंह डिसा नवलपरासी पश्चिमका २२ वर्षीय सर्वेस केवट, पाल्पाका ३८ वर्षीय प्रेम कामीको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ।

कम्मरमा गोली लागी गम्भिर घाइते भएका नवलपरासी पश्चिमका २३ वर्षीय विजय सहानीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै, नवलपरासी पश्चिमका ३० वर्षीय बिष्णु परियार, रुपन्देहीका ३२ वर्षीय संतोष बिक, पाल्पाका १९ वर्षीय समीर थापा, बुटवलका ३४ वर्षीय टुकबहादुर बुढाप्रिती, ६२ वर्षीय ज्ञानबहादुर गुरुङ, ६३ वर्षीया मनरुमा झा, २२ वर्षीय सुजन थापा, ३४ वर्षीय सुजन परियार, ५२ वर्षीय त्रीचन्द्र कुर्मी, अर्घाखाँचीका २४ वर्षीय मेघराज कुमाल, पाल्पाका ४३ वर्षीय भीमबहादुर कार्की र दाङका ३१ वर्षीय मेघबहादुर रोक्का क्षेत्रीको पनि प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

त्यसैगरी, प्रहरी जवानहरु निरशंकर केसी, सुरेन्द्र रोका, खगेन्द्र प्रसाद यादव, महेन्द्र वली, अभिषेक बस्नेत, टेकबहादुर पल्ली र भरत गयल मगरको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ।

झडपको क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर चार जनाको मृत्यु भएको छ। तीन जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीका डीइजी बसन्त कुमार लामाले जानकारी दिए।

बुटवल उपमहानगरपालिका वडा १७ र १८ मा निर्माणाधिन मोतिपुर औद्योगिक करिडोर क्षेत्रमा आइतवार दिउँसो स्थानीय सुकुम्बासी र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो।

जिल्ला प्रशासन कार्यालयले स्थितिलाई नियन्त्रणमा लिनका लागि भन्दै दिउँसो ४ बजेदेखि लागू हुने गरी कर्फ्यू जारी गरेको छ। अर्को सूचना जारी नभएसम्मका लागि बुटवलको पूर्वमा तिनाउ नदी क्षेत्र (बुटवल-१७ शिवनगरदेखि १८ सौंरहिया पुलसम्म), पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन (बुटवल-१७), उत्तरमा शिवनगर रानीगंज बस्ती र दक्षिणमा बुटवल-१८ औद्योगिक करिडोरको जमिन क्षेत्रमा कर्फ्यू प्रशासन कार्यालयले लगाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell