PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

भिमफेदी कारागारका कैदीबन्दीलाई दसैँ मान्न सांसद बानियाँ र गाउँपालिकाको सहयोग



भिमफेदी कारागारका कैदीबन्दीलाई दसैँ मान्न सांसद बानियाँ र गाउँपालिकाको सहयोग

हेटौँडा : मकवानपुरको भिमफेदी कारागारका कैदीबन्दीलाई दसैँ मनाउन मकवानपुरका एक सांसद र गाउँपालिकाले सहयोग गरेका छन्। नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ र राक्सिराङ्ग गाउँपालिकाले कारागारका कैदीबन्दीलाई दसैँ मनाउन खसी र खाद्यान्न सहयोग गरेका हुन्।

कारागारमा राक्सिराङ्ग गाउँपालिकाका मात्रै ४१ जना रहेकाले पालिकाले आफ्नै खर्चमा दसैँमा खाद्यान्न लगायतका सामग्री वितरण गर्दै आएको छ। कारागारमा रहेकाहरुलाई प्रदेशसभा सदस्य बानियाँले व्यक्तिगत ६० हजार रुपैयाँ प्रदान गरेका थिए।

सामाजिक एवं मानवीय भावनाको आधारमा कारागारमा रहेका कैदीबन्दीको दसैँ सुखद बनाउन सहयोग गरेको बानियाँले बताए। दसैँ सबैको पर्व भएको बताउँदै बानियाँले कारागारभित्रका कैदीबन्दीलाई प्राप्त सहयोगबाट उत्साहपूर्वक पर्व मनाउन उनले सुझाव दिए।

जीउने आधार र विकल्प नभएर गाँजा खेती गर्नुपर्ने अवस्थाका व्यक्तिहरु जेलमा रहेको राक्सिराङ्ग गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए। गाउँपालिका सबैको अभिभावक भएकाले पालिकाका बासिन्दाका केही व्यक्ति कारागारमा रहँदा दसैँ खल्लो नहोस् भनेर केही राहत दिएको उनले बताए।

कार्यक्रममा पालिका उपाध्यक्ष निर्मला हिम्डुङ, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौला, नेताहरु रञ्जन कालाखेती, विदुर थापा लगायतको उपस्थिति रहेको थियो। भिमफेदी कारागारमा लागुऔषध मुद्दामा मकवानपुरको हेटौँडा उपमहानगरका ४४, राक्सिराङ्गका ४१, कैलाश गाउँपालिकाका १४, बकैया गाउँपालिकाका ३, भिमफेदी गाउँपालिकाका ३, मनहरी गाउँपालिकाका १६ र थाहा नगरपालिकाका २ जना गरी १ सय २३ जनाले जेल जीवन बिताईरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell