PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

माओवादी केन्द्रको महत्वकांक्षी योजना पुरा गर्न समय थप : चाडपर्वले सम्मेलन प्रभावित, सरकार सञ्चालनका लागि बन्दै छ यस्तो संयन्त्र



माओवादी केन्द्रको महत्वकांक्षी योजना पुरा गर्न समय थप : चाडपर्वले सम्मेलन प्रभावित, सरकार सञ्चालनका लागि बन्दै छ यस्तो संयन्त्र
फाइल फोटो

काठमाडौं : नेकपा माओवादी केन्द्रले ३० लाख पार्टी सदस्य पुर्‍याउने महत्वकांक्षी योजनाका लागि समय थपेको छ। असोज मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको माओवादी केन्द्रले झण्डै एक महिना कात्तिक २७ गते सम्मका लागि नवीकरणको समय थपेको हो। माओवादी केन्द्रको संगठन विभागको प्रतिवेदनमा ३० लाख पार्टी सदस्य पुर्‍याउने लक्ष्य राखिएको छ। उक्त प्रतिवेदन स्थायी कमिटीको बैठकबाट पारित हुन बाँकी रहेको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले बताए।

प्रदेश र पालिका सम्मेलन सर्‍यो

नेकपा (माओवादी केन्द्र)ले पार्टीका तल्ला निकायको सम्मेलनको कार्यतालिका हेरफेर गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमवार र मंगलवार बसेको बैठकले सम्मेलनको मिति हेरफेर गरेको हो। प्रदेश, पालिका, वडा र टोल सम्मेलनको कार्यतालिका परिमार्जन भएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए। उनका अनुसार टोल सम्मेलन कात्तिक २७ गतेसम्म, वडा सम्मेलन मङ्सिर ४ सम्म, पालिका सम्मेलन मङ्सिर ११ गतेसम्म र प्रदेश सम्मेलन मङ्सिर २५ गतेसम्म सम्पन्न गर्ने गरी म्याद थप गरेको हो।

राष्ट्रिय सम्मेलन यथावत

ढकालले राष्ट्रिय सम्मेलनको मिति भने यथावत रहेको जानकारी दिए। माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११,१२ र १३ गते गर्ने निर्णय गरेको थियो। यसअघि टोल सम्मेलन ६ कात्तिक, वडा सम्मेलन कात्तिक १३, पालिका सम्मेलन मङ्सिर ४ मा सम्पन्न गर्ने तालिका बनाइएको थियो।

'चाडबाडले सम्मेलन प्रभावित'

तोकिएको समयमा सम्मेलन सम्पन्न गर्न समयको अभाव भएकाले समय हेरफेर भएको ढकालको भनाई छ। उनले चाडवाडका कारण सम्मेलनहरु प्रभावित भएको बताए।

यस्तै बैठकले पार्टी सदस्यता नवीकरणको म्याद यही कात्तिक २७ सम्म थप गरेको छ । यसअघि पार्टी सदस्यता नवीकरणको म्याद असोज मसान्तसम्म थियो ।

धमाधम समिति गठन

बैठकले १४९ सदस्यीय सल्लाहकार समिति र ९९ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ।

पेशलकुमार पोखरेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोग, टंक राईको अध्यक्षतामा २५ सदस्यीय अनुशासन आयोग गठन गर्ने माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले निर्णय गरेको छ।

माओवादीले यसअघि नै विष्णुपुकार श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय निर्वाचन आयोग गठन गरेको थियो।

बैठकले भूगोलभन्दा बाहिर पार्टी काममा संलग्न सदस्यलाई समेटेर १७५ सदस्यीय विशेष कमिटी गठन गर्ने निर्णयसमेत गरेको छ। स्थायी कमिटीको अर्को बैठक कात्तिक ४ गते बिहान ८ बजे बोलाइएको छ।

सरकार सञ्चालनका लागि छुट्टै संयन्त्र

माओवादी केन्द्रले नेपाली कांग्रेसको नेतृत्वमा सहभागी आफ्ना पार्टीका मन्त्रीलाई निर्देशन दिन छुट्टै संयन्त्र बनाउने भएको छ। पार्टी कार्यालयका सचिव ढकालले उक्त विषयमा सोमबार र मंगलवारको बैठकमा छलफल भएको जानकारी दिए। तर उक्त विषयमा ठोस निर्णय भने भइनसकेको उनको भनाइ छ। माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकरमा ६ जना मन्त्री सहभागी छन्।

सत्ता गठबन्धनका शीर्ष नेताहरुले यसअघि सरकार सञ्चालनका लागि न्युनतम साझा कार्यक्रम बनाएका थिए। उक्त कार्यक्रम लागू नहुँदै गठबन्धनका नेताहरुले आ-आफ्ना पार्टीका मन्त्रीलाई निर्देशन दिन थालेका छन्। यसअघि नेकपा एकीकृत समाजवादीले आफ्ना पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई छुट्टै निर्देशन दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell