काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावितलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न निर्देशन दिएका छन्। आज गृहमन्त्री बालकृष्ण खाँणलाई देउवाले उक्त निर्देशन दिएका हुन्।
'सुदूरपश्चिम लगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको वाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृह मन्त्रीलाई निर्देशन गरेको छु,' प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्।
आइतवारबाट परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरो आएको छ। बाढीपहिरोबाट सुदूरपश्चिम प्रदेश सबैभन्दा बढी प्रभावित बनेको छ। महाकाली नदी र कर्णाली नदी उर्लिँदा तटीय क्षेत्रको कटानसमेत शुरु भएको छ।