PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अविरल वर्षाबाट १९ जिल्ला प्रभावित : बाढी पहिरोका कारण ६ जनाको मृत्यु, ५ जना घाइते



अविरल वर्षाबाट १९ जिल्ला प्रभावित : बाढी पहिरोका कारण ६ जनाको मृत्यु, ५ जना घाइते

काठमाडौं : तीन दिनदेखि परेको अविरल वर्षाका कारण १९ जिल्लाहरु प्रभावित भएका छन्। वर्षाका कारण कालिकोट, डडेलधुरा, कञ्चनपुर, बझाङ, बर्दिया, कैलाली, डोटी, सुनसरी, दैलेख, दार्चुला, बाजुरा, सुर्खेतलगायत १९ जिल्लाहरु प्रभावित भएको गृह मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार वर्षापछि आएको बाढी पहिरोबाट मंगलवार दिउँसो ४ बजेसम्म कालिकोटमा १ जना, डडेलधुरामा १, डोटीमा २, सुनसरीमा २ जना गरी ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। त्यस्तै, ४ वटा घर पहिरोले पूर्ण क्षति भएको छ भने करिव ५०० घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

मन्त्रालयले भनेको छ, ‘कतिपय जिल्लाहरुमा सञ्चार सम्पर्क, विद्युत सेवा, सडक अवरोध भएको कारण उद्धार कार्यमा कठिनाई भएतापनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, प्रदेश सरकार, स्थानीय तहहरुको समेत सहयोगमा खोज तथा उद्धार लगायतका सम्पूर्ण प्रयास भइरहेको छ।’

त्यसैगरी, आजै गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकमा प्रभावित जिल्लाहरुमा सम्पूर्ण नागरिकहरुको जीउ धनको सुरक्षाको लागि सबै सुरक्षा निकायहरुले संयुक्त प्रयास जारी राख्ने निर्णय गरिएको छ। त्यसका साथै नेपाली सेनाको हेलिकप्टरलाई प्रभावित स्थानहरुलाई मध्यनजर गरी तयारी अवस्थामा राख्न र राहत तथा उद्धारका लागि अन्य आवश्यक सामाग्रीहरु समयमै उपलब्ध गराउन सकिने गरी व्यवस्थापन गर्न मन्त्री खाणले निर्देशन दिएका छन्।

वर्षा कायमै रहेको र अझै केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएकाले तटीय र जोखिमयुक्त स्थानमा रहेका नागरिकहरुलाई उच्च सतर्कता कायम राख्न पनि मन्त्रालयले अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell