PahiloPost

Jul 3, 2024 | २० असार २०८१

ओलीलाई भीम रावलको जवाफ : १० बुँदे सहमति ‘एकतारे’ होइन ११ तारे विगुल हो



ओलीलाई भीम रावलको जवाफ : १० बुँदे सहमति ‘एकतारे’ होइन ११ तारे विगुल हो
फाइल फोटो।

काठमाडौं : नेकपा (एमाले)का उपाध्यक्ष डा भीम रावलले १० बुँदे सहमति ‘एकतारे’ नभई पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल भएको बताएका छन्।

अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको एक कार्यक्रममा अब १० बुँदे सहमतिको ‘एकतारे’ बजाइरहनु आवश्यक नभएको बताएपछि त्यसको जवाफमा रावलले यस्तो बताएका हुन्। रावलले ट्विट गर्दै १० बुँदे सहमति संस्थागत भइसकेको समेत बताएका छन्।

रावलले ट्विटमा लेखेका छन्, ‘१० बुँदे सहमति 'एकतारे' होइन पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल हो। यसको धुन संस्थागत भइसकेको छ। सबैले ठण्डा दिमागले सुन्नु स्वास्थका लागि लाभदायक छ।’

 

अध्यक्ष ओलीले बुधवार काठमाडौंमा आयोजित नेकपा एमाले वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा १० बुँदे सहमतिको ‘एकतारे’ बजाइरहनु आवश्यक नभएको भन्दै सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका थिए।

ओलीले भनेका छन्, ‘अब यो १० बुँदेको एकतारे बजाइरहनु आवश्यक छैन। एक ठाउँ मिलेर, एकताबद्ध भएर अगाडि बढौँ न खुरुक्क। अब कति बजाउने १० बुँदे?’

उनले माधव नेपाललाई मिलाउन र पार्टी फुटाउन नदिन १० बुँदे गरिएको बताए। उनले नेपाल समूहबाट फर्किएकाहरुलाई कुनै भेदभाव नगरिने बताएका थिए।

‘बाटो बिराएका पनि फर्क भनिरहेका छौँ हामी, कुनै भेदभाव गर्दैनौँ, आउ काम गरौँ’, ओलीले भनेका छन्, ‘योग्यता अनुसार प्रदेश कमिटीमा बस्ने, योग्यता अनुसार केन्द्रमा बस्ने, योग्यता अनुसार जहाँ मिल्छ त्यहाँ राख्ने। कुनै आग्रह छैन तर माधव नेपाललाई नो इन्ट्री।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell