काठमाडौं : नेकपा (एमाले)ले १० बुँदे प्रस्ताव सफलतापूर्वक कार्यान्वयन भएको निष्कर्ष निकालेको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहीवार र शुक्रवार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको एमाले स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो।
पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बैठकका निर्णयबारे जानकारी दिँदै केही स्थानमा १० बुँदे प्रस्ताव कार्यान्वयन बाँकी रहेको कुरालाई ध्यानमा राख्दै केन्द्रीय कमिटीको आगामी बैठकसम्म बाँकी स्थानमा पनि यसलाई कार्यान्वयन गर्न आवश्यक निर्णय गरेको बताए। बैठकले कार्यविभाजन हुन बाँकी नेताहरुको कार्यविभाजन आगामी बैठकबाट गर्ने निर्णय गरेको छ।
बैठकले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना गर्ने निर्णय गरेको छ। महाधिवेशनको व्यवस्थापनका लागि पार्टी स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन गरिएको छ। कमिटीमा सहसंयोजक सुरेन्द्र पाण्डे, सचिव विष्णु रिमाल तथा सदस्यहरुमा पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, लीला गिरी, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल र दीपक देवकोटा रहेका छन्। एक सदस्य पछि मनोनयन गरिने बताइएको छ।
बैठकले असोज अन्तिमदेखि परेको अविरल वर्षा र यसका कारण सिर्जित बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न भागमा भएको जनधनको ठूलो क्षतिप्रति दुःख व्यक्त गरेको छ। बाढी पहिरोका कारण ज्यान गुमाउने सबैप्रति एमालेले श्रद्धाञ्जली अर्पण समेत गरेको छ। वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज र क्षतिपूर्तिको घोषणा गर्न बैठकले सरकारसँग माग गरेको छ।
यस्ता छन् बैठकका निर्णय :