PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पदम विश्वकर्माको उपन्यास ‘क्वारेनटाइन’ लोकार्पण



पदम विश्वकर्माको उपन्यास ‘क्वारेनटाइन’ लोकार्पण

काठमाडौं : साहित्यकार पदम विश्वकर्माको पहिलो उपन्यास कृति‘ क्वारेनटाइन’को लोकार्पण भएको छ। नेपाल प्रज्ञा प्रतिषठानका कुलपति गंगाप्रसाद उपे्रतीले शुक्रवार उपन्यासको लोकार्पण गरेका हुन्।

उपन्यासमाथि टिप्पणी गर्दै कुलपति उप्रेतीले उपन्यास सरल भाषामा रहेर पनि नयाँ तथा समसामयिक बिषय समेटेको बताए। दुई वर्षदेखि विश्वभरी मानवजातिलाई आक्रान्त पारेको कोरोना भाइरसले दिएको पीडालाई समेटिएकोले उपन्यास ऐतिहासिक कृतिको रुपमा स्थापित भएको बताए।

उपन्यास माथि समिक्षा गर्दै संचारकर्मी तथा समिक्षक राजकुमार बानियाँले उपन्यासमा कोरोना भाइरसको पहिलो लहरमै अमेरिकामा रहेका नेपालीले भोगेको पीडाको वर्णन समावेश भएको बताए। पुस्तकमा आदर्श र यथार्थको फ्युजन, आख्यान र गैरआख्यानको स्वाद पाइएको बताए। उपन्यासमाथि समिक्षक महेश पौड्यालले पनि समिक्षा गरेका छन्।

आफ्नै कृति माथि बोल्दै साहित्यकार विश्वकर्माले  कोरोना भाइरसको कारण अमेरिकामा नेपालीले भोग्नु परेको कारुणिक पीडा उपन्यासमा समेटेको बताए। कोरोनाको कारण मृत्यु भएपछि आफन्तले छुन र हेर्न नपाएका पीडाहरु र प्रदेशबाट शव आफ्नो देशमा ल्याउन नपाउँदाको पीडासमेत समेटेको बताए। ‘अस्पतालमा लाशको खातले लाश राख्ने ठाउँ थिएन, ती कोलाहलपुर्ण दृष्य देखें, त्यस पछि यो बिषयमा लेख्नु पर्छ भन्ने लागेर लेखेको हुँ,’ उनले आफ्नो कर्मथलो अमेरिकाको क्लोराडोको घटना स्मरण गर्दै भने। अन्तराष्ट्रिय साहित्य समाजका पूर्व अध्यक्षसमेत रहेका उनले उपन्यास लेख्दा–लेख्दै धेरै पटक भावुक भएको स्मरण गरे।

साहित्यकार गीता खत्रीले उपन्यास भोक्त भएर लेखिएको हुनाले मौलिकपन रहेको र विश्वको कालखण्डको महामारीलाई समेट्न सफल भएको बताइन्। ‘यो कृति पढ्दा म त्यही घटनाको स्मरण भए र रातभरि सुत्न सकिनँ’ उनले भनिन्।

अनेसास नेपालको आयोजनामा सम्पन्न सो कार्यक्रममा कुलपति उप्रेती,  साहित्यकारहरु गीता खत्री, राधेश्याम लेकाली, डा लक्ष्मणप्रसाद गौतम, प्राडा खगेन्द्रप्रसाद लुइटेलले शुभकामना मन्तव्य राखेका थिए। 

कार्यक्रममा साहित्यकारहरु जीवा लामिछाने, कृष्ण धरावासी, प्रतीक ढकाल, अनेसास केन्द्रीय समितिका उपाध्यक्ष बाबा बस्नेत, सचिव बिमला निरौला, सदस्य डा रेणुका सोलु, पूर्व सचिव प्रकाश नेपाल, बोस्टन च्याप्टरकी अध्यक्ष दीपा राई पुन, साहित्यकारहरु रामप्रसाद दाहाल, लीला लुइटेल, उमेश पाण्डे, पवित्रा सानु, मीरा गोतामे, नेत्रबन्धू पोख्रेल आदिको उपस्थिति रहेको थियो।

संग्रिला प्रकाशनले प्रकाशित गरेको ‘क्वारेनटाइन’ १ सय ८४ पृष्ठ रहेको यो उपन्यासको बजार मूल्य ३ सय ५० रहेको छ। अमेरिकाको क्लोराडोमा लामो समयदेखि व्यवसाय गर्दै आएका विश्वकर्मा यसअघि नै अन्तराष्ट्रिय साहित्य समाजका दुई कार्यकालका लागि अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन्। यस अघि उनको दुई वटा कविता संग्रह ‘वर्ड फ्लोरेटस’ र ‘शब्द सुमन’ कविता संग्रह प्रकाशित भइसकेका छन्। ‘तमसुक’ कथासंग्रह पनि प्रकाशित भइसकेको छ। पदम विश्वकर्मा साहित्य प्रतिष्ठान स्थापना गरेर उनले साहित्यको क्षेत्रमा थप योगदान  प्रदान गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell