वीरगंज : पर्सामा नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनको जिल्ला भेला प्रभावित भएको छ। संगठनमा एमालेबाट टुक्रिएको नेकपा (एकीकृत समाजवादी) पार्टी निकट कर्मचारी नेताहरुको बाहुल्यता रहेकोले जिल्ला भेला प्रभावित भएको हो।
नेपाल निजामति कर्मचारी संगठनको जिल्ला समन्य समिति अगाडि रहेको आफ्नै भवनमा तत्कालिन निजामति कर्मचारी संगठन पर्साका कोषाध्यक्ष सुनिल रौनियार पक्षले जिल्ला भेला गर्न खोज्दा माधव नेपाल समूहका नेता तथा निजामति कर्मचारी संगठन पर्साका अध्यक्ष अमित गिरीको समूहले भवनमा कार्यक्रम गर्न नदिएको हो।
नेपाल पक्षले कार्यालय आफूहरुले चन्दा संकलन गरी बनाएकोले कार्यक्रम हुन नदिने अडान लिएपछि साबिक एमाले निकट कर्मचारी संगठनका अगुवाहरुले वीरगंजको घण्टाघरस्थित ओम पार्टी प्यालेसमा कार्यक्रम गरेका छन्।
यस विषयमा एमाले पार्साका जिल्ला अध्यक्ष प्रभु हजाराले नेपाल समूहका अध्यक्ष रहेका अमित गिरीले एकलौटी रुपमा कार्यक्रम गर्न नदिएको आरोप लगाए। उनले तत्कालिन पार्टीको स्वामित्वमा रहेको निजामति कर्मचारी संगठनको भवनलाई आफ्नो भन्नु दुःखद कुरा भएको बताए।