काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी संरचना आफ्नो पक्षमा पार्ने फोहोरी खेलमा नेतृत्व तह लिप्त भएको आरोप लगाएका छन्। जनकपुरमा आयोजित एक कार्यक्रममा उनले नेतृत्वकै कारण कांग्रेस पार्टी नै अवैध भएको प्रश्न उठ्न थालेको बताएका हुन्।
१३ औं महाधिवेशनबाट चुनिएर आएका सभापति र पदाधिकारीहरुको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको उनले बताए। केही जिल्लाको महाधिवेशन सकिँदा केही जिल्लाको क्रियाशील सदस्यता नै नटुग्याउनु नेतृत्वको चरम अक्षमता र लापरवाही भएको उनको भनाइ थियो।
पदाधिकारीहरुले महाधिवेशनलाई निकै हल्का रुपमा लिएर चार चार पटक मिति परिवर्तन गरेको भन्दै अब कुनै हालतमा पनि मिति सार्न नदिने सिंहले बताए। तोकिएको समय अर्थात मंसिर ९ मै केन्द्रीय महाधिवेशन हुनुपर्ने उनको माग छ।
उनले १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बनेरै छाड्ने समेत बताए। ‘१४ औं महाधिवेशनमा नेतृत्व परिवर्तनको आवश्यकता छ। म सभापतिको अभियानमा होमिइसकेँ’ उनले भने।
प्रकाशमान सिंहले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो समय निकै आलोचना गर्दै आएका छन्। देउवाले सरकार र पार्टी संचालन गर्न नसकेको आरोप सिंहले लगाउँदै आएका छन्।