PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

को हुन् ओस्मान काभाला, जसका कारण टर्की र पश्चिमा राष्ट्रबीच बढ्दै छ कुटनीतिक टकराव?



को हुन् ओस्मान काभाला, जसका कारण टर्की र पश्चिमा राष्ट्रबीच बढ्दै छ कुटनीतिक टकराव?

काठमाडौं : टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले अमेरिकासहितका १० पश्चिमा मुलुकका कुटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरेसँगै अमेरिकासहितका पश्चिमा मुलुक र टर्कीबीच कुटनीतिक टकराव चुलिँदै गएको छ।  

एर्दोगनले टर्कीका लागि अमेरिका, जर्मनी, क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, नेदरल्याण्ड, न्युजिल्याण्ड, नर्वे र स्वीडेनका राजदूतलाई देश निकाला गर्ने आदेश दिएका हुन्। गत सोमवार ती मुलुकका राजदूतले संयुक्त विज्ञप्ति जारी गर्दै थुनामा रहेका नागरिक अगुवा एवं सामाजिक अभियन्ता काभालालाई रिहा गर्न माग गरेका थिए। 

अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नाटोको सदस्य राष्ट्र टर्कीले कुटनीतिज्ञलाई देश निकाला गरेका १० मध्ये ७ राष्ट्र नाटोकै सदस्य राष्ट्र हुन्। १९४९ मा स्थापना भएको नाटोमा हाल ३० राष्ट्र सदस्य छन्। जसमध्ये टर्कीले सन् १९५२ मा सदस्यता लिएको थियो। 

अमेरिकासहित जर्मनी, क्यानडा, डेनमार्क,  फ्रान्स, नेदरल्याण्ड, र नर्वे  नाटो सदस्य राष्ट्र हुन्। 

राजदूत देश निकालामा पारेका न्युजिल्याण्ड, फिनल्याण्ड र स्वीडेन भने नाटो सदस्य मुलुक होइनन्। 

उनको आदेश कार्यान्वयनमा आइसकेको भने छैन। सम्भवत: सोमवारको क्याबिनेटबाट यस सम्बन्धी निर्णय हुन सक्ने रोयटर्सले जनाएको छ।

यससँगै एर्दोगनले आफ्नो १९ वर्षे लामो शासन अवधिमा गम्भीर रुपमा कुटनीतिक संकट व्योहोर्दै छन्। टर्कीले जी-२० सम्मेलन र ग्लास्गोमा आयोजना हुन लागेको राष्ट्र संघीय जलवायु सम्मेलन नजिकिँदै गर्दा लिएको कदमले कुटनीतिक टकरावलाई थप अगाडि बढाउन सक्ने आशंका गरिएको छ। 

टर्कीको यो कदमको आलोचनासमेत भएको छ। युरोपियन पार्लियामेन्ट अध्यक्ष डेभिड सासोलीले १० राजदूतहरुको निष्काशन  टर्की सरकारमा तानाशाही बहावको संकेत भएको उल्लेख गरेका छन्। उनले निष्काशनबाट आफूहरु नडराउने बताउँदै उस्मानको रिहाको मागसमेत गरेका छन्। 


को हुन् उस्मान काभाला?

उस्मान काभाला टर्कीका व्यवसायी, अभियन्ता तथा राजनीतिक बन्दी हुन्।  १९५७ अक्टोबर २ मा जन्मिएका उनले सन् १९९० को दशकदेखि त्यहाँका विभिन्न नागरिक अभियानहरुमा सहभागी हुँदै सहयोग प्रदान गर्दै आएका छन्। 

उनले त्यहाँको कला संस्कृतिसम्बन्धी गैर नाफामुलक 'आन्दोलु कुल्चर' नामक संस्था स्थापना गरेका थिए। 

सन् २०१९ मा उनले २१ औं युरोपियन आर्कियोलोजिकल हेरिटेज प्राइज हात पारेका थिए भने सोही वर्ष उनले टर्कीको वाक स्वतन्त्रतासम्बन्धी सम्मानबाटसमेत सम्मानित भएका थिए। 

६४ वर्षका काभाला त्यहाँको परम्परागत रुपमा सुर्ती ब्यापारिक घरनाबाट आएका हुन्। सन् १९२३ मा टर्की र ग्रिसबीच भएको जनसंख्या आदानप्रदान कार्यक्रम अन्तर्गत उनको परिवार उत्तर ग्रिसबाट टर्की पुगेको थियो। 

बेलायतको म्यानचेस्टर युनिभर्सिटीबाट इकोनमिक्समा स्नातकोत्तर हासिल गरेका उनले सन् १९८२ मा अमेरिकाको न्यु स्कुल अफ सोसल रिसर्चबाट पीएचडी कार्यक्रममा भर्ना भए पनि आफ्ना पिताको मृत्यु पछि स्तानबुल फर्किएका थिए। 

बाबुको मृत्युपछि उनले आफ्नो पैत्तृक कम्पनी काभाला कम्पनीको जिम्मेवारी समालेका थिए। 

सन् १९८० मै उनी प्रकाशनमा संलग्न भएका थिए। उनले १९८५ मा आना प्रकाशन गृह स्थापना गरे। जसले टर्किस् भर्सनको इन्साइक्लोपेडिया ब्रिटानिका प्रकाशन गर्दै आएको छ। 

उनी हाल आरस प्रकाशसका बोर्ड अफ डाइरेक्टर सदस्य हुन्। सन् १९९० को देशदेखि उनी सामाजिक कार्यमा संलग्न भए। उनले त्यतिबेला नै प्रजातन्त्रको पक्षमा आवाज उठाउन थालेका थिए। साथै उनले टर्किस फाउन्डेसन अफ सिनेमा अडियो-भिजुअल कल्चर, ट्रुथ जस्टिस मेमोरी सेन्टर, हिस्ट्र फाउन्डेसन अफ टर्कीका संस्थापक हुन्। साथै उनी एम्नेस्टी इन्टरनेसनलका स्पोन्सर पनि हुन्।   

उनी टर्कीमा अमेरिकी अर्बपति जर्ज सोरोसको ओपन सोसाइटी फाउन्डेसनका संस्थापक सदस्य हुन्। 

टर्कीका राष्ट्रपति एर्दोगन काभालाको कटु आलोचक हुन्। उनले नाभालालाई 'रेड सोरोस अफ टर्की' को संज्ञा दिन्थे। सन् २०१३ मा भएको गेजी पार्क आन्दोलनको कारण नै काभाला रहेको त्यहाँको सत्ताले आरोप लगाउँदै आएको छ। 

यो आन्दोलनका क्रममा ११ जनाको मृत्यु हुनुका साथै ८ हजार बढी घाइते भएका थिए। साथै पाँच हजारको हाराहारीमा पक्राउ परेका थिए। 
त्यस्तै सन् २०१६ मा टर्कीमा भएको असफल 'कू'को पछाडि काभालको हात रहेको आरोपसमेत एर्दोगन सरकारले लगाउँदै आएको छ। 

काभालालाई सन् २०१७ अक्टोबर १८ मा इस्तानबुलको विमानस्थलबाट नियन्त्रणमा लिइएको थियो। त्यसको साता पछि सरकार समर्थित त्यहाँको अखबारले काभालाको सम्बन्ध सैन्य कूको प्रयास गर्ने गुलेनिस्ट समूह (एफईटीओ)सँग रहेको समाचार प्रकाशित गरेको थियो। 

त्यस्तै समाचारमा काभालाको नजिकको सम्बन्ध त्यहाँको डेमोक्रेटिक पिपल्स पार्टी (एचडीपी)सँग रहेको र जसको सम्बन्ध पीकेके आतंकवादी समूहसँग रहेको आरोपसमेत लगाइएको थियो। 

नोभेम्बर १ मा उनलाई त्यहाँको पिनल कोडको धारा ३०९ र ३१२ अन्तर्गत मुद्दा चलाइएको छ। जुन धाराले त्यहाँको संवैधानिक व्यवस्थालाई खलल पुर्‍याउने प्रयास गरेको तथा सैन्य कूमार्फत सरकारलाई काम कारवाही गर्नबाट रोक्ने प्रयास गरेको आरोप लगाइएको छ। 

उनीमाथि एकपछि अर्को अभियोग लगाउँदै सरकारले मुद्दा लम्ब्याउँदै गएको छ। उनलाई सन् २०२० फेब्रुअरीमा निर्दोष सावित भएपछि पुन उनलाई अर्को मुद्दा लगाएर पक्राउ गरिएको छ। सन् २०२० मार्चमा उनलाई पुन धारा ३२८ अन्तर्गत राष्ट्रिय गोपनियता तथा राष्ट्रिय सुरक्षामा हानी पुर्‍याएको आरोपमा पक्राउ गरिएको छ।  

सन् २०१७ देखि काभाला त्यहाँको सिलिभरी प्रिजनमा रहेका छन्। अदालतले निर्दोष करार दिए पनि उनी पटकपटक पक्राउ पर्दै आएका छन्। 
गत सेप्टेम्बरमा युरोप परिषदको मन्त्रिस्तरीय समितिले काभालालाई रिहा गर्न अल्टिमेटम दिँदै नाकाबन्दी लगाउनेसम्मको चेतावनी दिएको थियो। 
 
त्यस्तै अक्टोबर १८ उनी पहिलोपटक विमानस्थलबाट नियन्त्रणमा परेको दिन नै पश्चिमा १० देशका राजदूतहरुले संयुक्त वक्तव्य जारी गर्दै काभालाको रिहाईको माग गरेका थिए। त्यसको प्रतिक्रिया स्वरुप १० वटै देशका राजदूतलाई निष्काशन गर्ने घोषणा टर्कीका राष्ट्रपतिले गरेका छन्। यसले नाटो सदस्य राष्ट्रमात्र नभई टर्की र अन्य मुलुकहरुसँगको सम्बन्धमासमेत दरार पैदा गर्दै गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell