काठमाडौं : नेपाली कांग्रेसले आउँदो मंसिर ९ बाट गर्ने गरी तोकिएको महाधिवेशन सार्नेबारे छलफल थालेको छ। तोकिएको समयमा १४ औं महाधिवेशन नहुने देखिएपछि कांग्रेस नेताहरुले छलफल थालेको हो।
यसै विषयमा आज महादेव यादव संयोजक रहेको कांग्रेस निर्वाचन समितिको बैठक बसेको थियो। सानेपास्थित पार्टी मुख्यालयमा बसेको बैठकमा महाधिवेशनको कार्यतालिका परिमार्जनबारे कुनै निर्णय हुन नसकेको निर्वाचन समितिले जनाएको छ।
कार्यतालिका हेरफेरका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरी पदाधिकारी बैठक बोलाउने तयारीमा कांग्रेस पुगेको बताइएको छ। कांग्रेसले गत भदौ १८ बाट वडा अधिवेशन शुरु गरेको हो। वडा अधिवेशन शुरु गरे पनि अझै रसुवा, पर्सा, बारा, सप्तरी र रौतहटको क्रियाशील विवाद टुंगिएको छैन। जसले गर्दा महाधिवेशनको मिति धकिलिने अवस्था सिर्जना भएको हो।
त्यसैगरी दसैं अघि नै हिमाली जिल्लाका जिल्ला अधिवेशन सकाउने तयारी कांग्रेसको थियो। तर २१ हिमाली जिल्लामध्ये १३ जिल्लाको अधिवेशनमात्र सम्पन्न भएको छ। क्रियाशील टुंगिएका कतिपय जिल्लाहरुमा वडा अधिवेशनसमेत हुन सकेको छैन।
कांग्रेस नेताहरु एक अर्कालाई दोष दिँदै महाधिवेशनको मिति सार्ने दाउमा लागेका छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवाकै कारण महाधिवेशन ढिलाई भइरहेको आरोप लगाउँदै आएका छन्।
समयमै महाधिवेशन हुन नसक्नुको कारण क्रियाशिल सदस्यता विवाद नै भएको उनको भनाई थियो। यसमा पनि देउवा पक्षीय जिल्लामै खिचलो रहेको पौडेलको दाबी थियो। 'अहिले किन महाधिवेशन समयमा हुन सकेन? अहिलेसम्म किन क्रियाशील समाधान भएन?' कैलालीमा आइतवार पौडेलले भने, 'शेरबहादुर जीको पक्षको रहेको जिल्लाहरुमा विकृति आएको छ। हाम्रो पक्षबाट विवाद आएको छैन। ४१ जिल्लामा त शुरुमै भयो नि। उहाँकै प्रभाव भएको ठाउँमा किन खिचलो भयो? यस्तो अप्ठेरो कसले ल्यायो?'
सुदूरपश्चिम भ्रमणकै क्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले महाधिवेशनबारे निर्वाचन समितिले थाह हुने बताएका थिए। उनले पार्टीको महाधिवेशनका लागि निर्वाचन समिति रहेकोले आफूलाई यसबारे थाह नहुने बताएका थिए।
पौडेल पक्ष साझा नेतृत्व चयनको सकसमा रहेकोले महाधिवेशनको मिति सार्ने दाउमा लागेको बताइएको छ। यता सभापति देउवा पक्ष जसरी पनि जित आफ्नो पोल्टामा पार्न लागिपरेको बताइएको छ। हिमाली जिल्लामा चिसो शुरु भइसकेको र चाडपर्वका कारण कांग्रेस महाधिवेशन तोकिएको समयमा नहुने निश्चितजस्तै भइसकेको कांग्रेस नेताहरु बताउँछन्।