PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

वीरगंजमा रेडियो सान्भी म्युजिक अवार्ड हुँदै, संगीत क्षेत्रका १० कलाकारलाई पुरस्कृत गरिने



वीरगंजमा रेडियो सान्भी म्युजिक अवार्ड हुँदै, संगीत क्षेत्रका १० कलाकारलाई पुरस्कृत गरिने

वीरगंज : वीरगंजमा प्रथम म्युजिक अवार्ड समारोह आयोजना हुने भएको छ। पीसी मिडिया प्रालि वीरगंजको आयोजनामा हुने प्रथम रेडियो सान्भी म्युजिक अवार्डमा कला क्षेत्रका १० जना कलाकारलाई पुरस्कृत गरिने जनाइएको छ।

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा रेडियो सान्भीले पत्रकार सम्मेलन गर्दै आगामी कात्तिक २२ गते म्युजिक अवार्ड समारोह आयोजना गर्ने बताएको छ। गीत, संगीत तथा कला क्षेत्रमा भविष्य खोज्दै संघर्ष गरिरहेका स्थानीय कलाकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले रेडियो सान्भीले यो कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक एवं रेडियो सान्भीका समाचार प्रमुख दीपक गौतमले बताए।

उनका अनुसार वीरगंज आसपासमा थुप्रै कलाकार ओझेलमा पर्दै गएकोले स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने अभिप्रायले रेडियाले यस्तो कार्यक्रम गर्न लागेको हो। पत्रकार सम्मेलनमा उपस्थित भोजपुरी गायक सुनिल पण्डितले यस्तो कार्यक्रमले यस भेगका स्थानीय कलाकर्मीहरुलाई थप उर्जा दिने बताए।

अर्का कलाकार अजमत अलीले अवार्ड समारोहले कलाप्रेमीहरुलाई उत्साहित बनाउने र नयाँ कलाकारलाई यस क्षेत्रमा आउन प्रेरणा दिने बताए। नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले रेडियो, गीत, संगीत र कलाकार एक-आपसमा जोडिएकाले रेडियो सान्भीले गीत, संगीतका क्षेत्रमा क्रियाशिल कलाकारलाई सम्मानित गर्दा कला संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

चलचित्र पत्रकार संघ पर्साकी अध्यक्ष निलिमा पौडेलले मोफसलमा यस्तो कार्यक्रमले राजधानी बाहेकको कलाकारलाई समेट्दा स्थानीय कलाको मूल्यांकन हुने बताइन्। म्युजिक अवार्डमा प्राविधिक सहयोग गर्न रेडियो सान्भी र चलचित्र पत्रकार संघ पर्साबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।

रेडियोले कोरोना महामारीको बेला विभिन्न संघ संस्थाहरुलाई सेनेटाइजर, मास्कसहितका स्वास्थ्य सामाग्री वितरणदेखि खाद्यान्न सामग्री समेत वितरण गरेर समाजिक उत्तरदायित्वमा योगदान पुर्‍याइरहेको पनि रेडियोका स्टेशन म्यानेजर सतेन्द्र यादवले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell