PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ड्राईपोर्ट भन्सारमा कामदारको मृत्यु, क्षतिपूर्तिको माग गर्दै मजदुरहरु आन्दोलित



ड्राईपोर्ट भन्सारमा कामदारको मृत्यु, क्षतिपूर्तिको माग गर्दै मजदुरहरु आन्दोलित

वीरगंज : वीरगंज-२५ श्रीसियास्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयमा बिसिएन (बोराबन्द) गोदामका पलदारहरुले काम ठप्प पार्दै हडतालमा उत्रेका छन्। काम गर्ने क्रममा घाइते भई उपचारको क्रममा कामदारको मृत्यु भएपछि उचित क्षतिपूर्तिको माग गर्दै करिब ४ सय मजदुरहरु काम ठप्प पार्दै आन्दोलित भएका हुन्।

बुधवार बिहान १० बजेपछि उनीहरुले बिसिएन गोदाममा मालसमान लोड अनलोडको काम ठप्प पारेको बताएका छन्। वीरगंज-२६ आठराहाका ३५ वर्षीय पलदार बिरजु पटेल गत बुधवार सवा ९ बजे पिनाको बोरा गाडीबाट अनलोड गर्ने क्रममा चिप्लिएर लडेका थिए।

लडेपछि ५० किलोको बोरा उनको घाँटीमा पर्दा उनी गम्भीर घाइते भएका थिए। वीरगंजस्थित एलएस न्यूरो अस्पतालमा प्रारम्भिक उपचार गरी काठमाडौं लगिएकोमा मंगलवार बिहान ३ बजे उनको मृत्यु भएको र बुधवार उनको शव वीरगंज ल्याउने काम भइरहेको छ।

उनको श्रीमती, ३ छोरी र एक छोरा छन्। वीरगंज-१७ अलौंका करण चौधरीको ठेक्कामम कार्यरत पटेलको परिवारले क्षतिपूर्ति नपाएसम्म काम ठप्प पारी आन्दोलन जारी राख्ने मजदुरहरुले बताएका छन्।

ड्राईपोर्टमा नेपाल भारतका दैनिक ज्यालादारीमा करिब ८ सय मजदुर काम गर्छन्। उनीहरुलाई काममा खटाउने तर स्वास्थ्य सुरक्षा र क्षतिपूर्तिमा ठेकेदारले ध्यान नदिने गरेको मजदुरहरुको गुनासो छ।

यस विषयमा ड्राईपोर्ट भन्सारका प्रमुख भन्सार अधिकृत डा लालबहादुर खत्रीले समस्या समाधानको लागि वार्ता भइरहेको बताए। पर्साका प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले पीडित परिवारलाई ६ लाख क्षतिपूर्ति दिने सहमति भएको र केही बेरमा पलदारहरुले काम शुरु गर्ने जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell