लागुऔषध मुद्दामा पक्राउ परेका शाहरुख खानका छोरा आर्यन खानलाई जमानत मिलेको छ। मुम्बई उच्च अदालतले आज आर्यनलाई जमानत दिन स्वीकार गरेको हो।
आर्यनका साथै मुनमुन धमीचा र अरबाज मर्चेंटले पनि जमानत पाएका छन्। तर, उनीहरुलाई रिहा भने गरिएको छैन। तीनै जनाले भोलि वा पर्सिसम्म आर्थर जेलमा नै बस्नुपर्नेछ।
आज मुम्बई उच्च अदालतमा जमानतमा सुनुवाई भएको थियो। जसमा आर्यनको जमानतको विरोध गर्दै एएसजी अनिल सिंहले नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)को तर्फबाट वकालत गरेका थिए। अनिलले आर्यन र अरबाजले निरन्तर रुपमा ड्रग्स लिएको आरोप लगाएका थिए।
अक्टोबर ३ मा मुम्बईको समुद्री किनारमा क्रुज सिपमा भएको एक पार्टीमा छापा मारेर आर्यनसहित अन्य सात जनालाई एनसीबीले पक्राउ गरेको थियो। छापाबाट एनसीबीले १३ ग्राम कोकेन, २१ ग्राम चरेस, २२ एमडीएमएका चक्की र ५ ग्राम एमडी फेला पारेको थियो।