PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

प्रधानन्यायाधीश जबराले भने : निगाहमा पाएको पद हैन, सडकबाट मागेर राजीनामा दिन्न



प्रधानन्यायाधीश जबराले भने : निगाहमा पाएको पद हैन, सडकबाट मागेर राजीनामा दिन्न

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिने दोहोर्‍याएका छन्। प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा प्रधानन्यायाधीश जबराले आफूले राजीनामा दिनुपर्ने कुनै कारण नभएको स्पष्ट पारेका छन्।

उनले न्यायालयलाई कमजोर बनाउने खेलको पछाडि आफू नलाग्ने पनि बताएका छन्। विधिसम्मत रुपमा मात्र जाने भन्दै उनले यस्ता हल्लामा दलहरुले महाभियोग ल्याउँदैनन् भन्ने आफू विश्वस्त रहेको समेत बताए।

उनले भने, ‘म संविधान, विधि, प्रक्रियाको प्रधानन्यायाधीश हुँ। म कसैको निगाह, सद्भाव र सहयोगबाट प्रधानन्यायाधीश भएको हैन। मेरो बहिर्गमनको पनि संविधानले विधि र प्रक्रिया निर्धारण गरेको छ। यसबाट जान मञ्जुर छु। सडकबाट जुन प्रश्न आएका छन्। नेपाल बारको निर्णय पनि थाहा छ। सहयोगी न्यायाधीशको पनि कतै न कतै यो विचारधारा राखेर निकास दिनुपर्छ भन्ने सोच आएको छ। तर, नेतृत्वको हिसाबले म धैर्यधारण गर्न आग्रह गर्छु। न्यायपालिकाको नेतृत्वलाई यसरी सडक र कसैको विचारबाट राजीनामा दिने हो भने हामी न्यायाधीशले राजीनामाको पत्र बोकेर हिड्नुपर्‍यो। जसले माग्यो राजीनामा दिनुपर्छ।’

यस्तो प्रवृत्ति र आधारबिनाको कुरामा विश्वास नभएको उनले बताए। यस्ता क्रियाहरुलाई आफूले कुनै पनि मानेमा सहयोग नगर्ने उनको भनाइ छ। यो आफ्नो राजीनामाको प्रश्न नै नभएको भन्दै उनले सुदृढ न्यायपालिका देख्न नचाहने प्रवृति बढिरहेको बताए।

प्रधानन्यायाधीश जबराले आफू अहिलेसम्म कुनै पनि राजनीतिक भागवण्डामा सहभागी नभएको दावी गरे। मन्त्री नियुक्तिबारे प्रधानमन्त्रीदेखि शीर्ष नेताहरुले स्पष्ट पारिरहँदा राष्ट्रका सम्मानित व्यक्तित्वमाथि अविश्वास गरिनु राज्य र न्यायपालिकाको नेतृत्वलाई असफल बनाउने क्रिया भएको उनको भनाइ थियो।

‘यी प्रश्न निरर्थक छन्। सत्य तथ्यमा आधारित छैनन्। सरकार गठनका क्रममा मसँग नाम पत्रकारिताका माध्यमबाट जोडियो। मैले योबारे वक्तव्यद्वारा खण्डन गरेको छु। मेरो संवैधानिक अधिकारबाट बोलेको छु। यसको अलवा पनि पूर्व प्रधानमन्त्री प्रचण्डजीले पनि पदाधिकारी नियुक्तिबारे स्पष्ट पार्नुभएको छ। माधव नेपालजीले पनि योबारेमा सर्वसाधारण नागरिकलाई जानकारी दिनुभएको छ। प्रधानमन्त्रीले पनि नियुक्तिमा प्रधानन्यायाधीशको संलग्नता छैन भनिरहनु भएको छ। यसो भनिरहँदा पनि राष्ट्रका सम्मानित व्यक्तित्वमाथि अविश्वास गरिनु राज्य र न्यायपालिका नेतृत्व असफल बनाउने क्रिया हो। यसमा सत्यता छैन,’ प्रधानन्यायाधीश जबराले भने।

बजारका हल्लालाई लिएर आफूविरुद्ध दलहरुले महाभियोग नल्याउनेमा विश्वस्त भएको भन्दै जबराले महाभियोग आए आफू सामना गर्न तयार रहेको बताए।

उनले भने, ‘म विधि र प्रक्रिया बमोजिम आएको हुँ। यस अनुसार जान म तयार छु। विधि र प्रक्रियाबाट मेरामाथि उठेका प्रश्न सामना गर्न तयार छु। न्यायपालिकालाई कमजोर बनाएर जाने पक्षमा म छैन। यो स्वीकार छैन।’

जबराले न्यायाधीशहरुले आफ्नो राजीनामा मागेको कुरा पनि गलत भएको दावी गरेका छन्। न्यायाधीशहरुले निकास मागेको भन्दै उनले अहिलेको विवादमा कसरी जाने भन्ने विकल्प खोजिएको स्पष्ट पारे।

उनले भने, ‘सबै न्यायाधीशको संवैधानिक दायित्व तोकिएका छन्। यसबाट उहाँहरु विमुख हुनुहुन्छ भन्ने लाग्दैन। राजीनामा माग्यो भनेर बाहिर आएको कुरा गलत हो। उहाँहरुले राजीनामा माग्नुभएको हैन, निकास माग्नुभएको हो। अहिलेको विवादमा कसरी जाने भन्ने विकल्प उहाँहरुले खोज्नुभएको हो।’

उनले अदालत सुधारको प्रतिवेलदन लागू हुने समेत बताए। आफूले प्रतिवेदन सार्वजनिक गर्ने भन्दै आएको पनि उनको भनाइ थियो।

‘गोलाप्रथा लागू गर्न केही नियम र निर्देशिका आवश्यक थियो। मैले समिति पनि बनाएको हो। त्यो समितिले असोज १ गते प्रतिवेदन दियो। भदौ १६ बाट लागू गर्न यसकारण सकिएन। प्रतिवेदन त मंसिरबाट लागू गर्ने भनिएको छ। मैले त भदौबाट लागू गर्ने प्रयत्न गरेको थिएँ,’ प्रधानन्यायाधीश जबराले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell