वीरगंज : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग वीरगंजका बुद्धिजीवीले अन्तरक्रिया गरेका छन्। नेपाल बौद्धिक पेशाकर्मी महासंघ तथा नेपाल इन्जिनियर्स समाजको आयोजनामा सेन्टजेभियर्स कलेजमा आयोजित कार्यक्रममा प्रदेश २ ले अध्यादेशमार्फत सिफारिस गरेको वीरगंजको प्राविधिक विश्वविद्यालय र राजविराजको कृषि विश्वविद्यालयको बारेमा छलफल भएको थियो।
सो अवसरमा मुख्यमन्त्री राउतले वीरगंजले विश्वविद्यालय स्थापना गर्न देखेको सपना पूरा हुन लागेको बताए। उनले अध्यादेश सिफारिस लगत्तै विश्वविद्यालय स्थापनाको लागि कार्यान्वयनको क्रममा गइसकेकोले आगामी दिनमा दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्याउने बताए।
नेपाल पछिल्लो समय अदक्ष जनशक्ति उत्पादन गर्ने मुलुकको रुपमा अगाडि बढिरहेकोले प्राविधिक विश्वविद्यालयले वीरगंजको औद्योगिक कोरिडोर र देशलाई चाहिने जनशक्ति उत्पादन गर्ने बताए।
आयोजक संस्थाका अध्यक्ष विजय यादवको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य आत्माराम साह, ठाकुर राम बहुमुखी क्याम्पसका प्रमुख उमेश चौरसिया, इन्जियिनर एसोसियन वीरगंजका पूर्व अध्यक्ष मुन्ना सर्राफ, बीआइटीका सञ्चालक रामबाबु गुप्तालगायतको सहभागिता थियो।