PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

आनीहरुलाई सामाजिक गतिविधिमा सरिक गराउन दुई दिने गोष्ठी शुरु



आनीहरुलाई सामाजिक गतिविधिमा सरिक गराउन दुई दिने गोष्ठी शुरु

काठमाडौं : आनीहरुलाई सामाजिक गतिविधिमा सरिक गराउने दुई दिने गोष्ठी प्रारम्भ भएको छ। शनिवार बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले स्वयम्भुमा गोष्ठीको आयोजना गरेको हो।

समितिका अध्यक्ष खेन्पो गेशे थुप्तेन जिग्डोलले छ्योइमे बाली उद्घाटन गरेको समारोहमा आनीहरुले टासी मोन्लाम पाठ गरेका थिए। गुम्बाहरुमा रहेका आनीहरुले आर्जन गरेको ज्ञानलाई गुम्बामै मात्र सीमित नराखी जनसमक्ष पुर्‍याउन भन्दै गत सालदेखि दाउन्ने नवलपरासीबाट यस्तो कार्यक्रम आयोजना गरेको समितिका कार्यकारी निर्देशक होमबहादुर दोङले बताए।

कार्यक्रममा आचार्य मोहन कुमार तामाङले बौद्ध धर्म र महत्वको विषयमा आफ्नो विचार राखे। दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा आचार्य नोर्बु शेर्पाले बौद्ध धर्ममा आनीहरुको भूमिका विषयमा प्रशिक्षण दिए।

भोलि भने पुण्यप्रसाद पराजुलीले नेपालमा बौद्ध धर्मको विकासक्रम, आनी छ्योइङ डोल्माले समाज सुधारमा आनीको भूमिका विषयमा प्रशिक्षण दिने छन्। विभिन्न जिल्लाका ११ वटा गुम्बाबाट ६० जना आनीहरु कार्यक्रममा सहभागी रहेको बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक दोङले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell