PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

सीएमआर नेपालको अध्यक्षमा तृष्णा आचार्य चयन



सीएमआर नेपालको अध्यक्षमा तृष्णा आचार्य चयन

काठमाडौं : सेन्टर फर मिडिया रिसर्च (सीएमआर) नेपालको अध्यक्षमा तृष्णा आचार्य चयन भएकी छिन्। आइतवार सम्पन्न नवौँ वार्षिक साधारण सभाले आचार्यलाई २ वर्षका लागि सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो।

आचार्य इटहरीस्थित जनता बहुमुखी कलेजमा पत्रकारिता तथा आमसञ्चार अध्यापनमा संलग्न छिन्। उनी यसअघि दिव्यभूमि बहुमुखी कलेजमा पत्रकारिता तथा आमसञ्चार विभागकी प्रमुख थिइन्। आचार्यले २०७६-२०७८ सम्म अध्यक्षको कार्यकाल पूरा गरेका ऋषिकेश दाहालबाट पदभार ग्रहण गरिन्।

त्यस्तै, सभाले उपाध्यक्षमा दीपक अर्याल, सचिवमा नवीन खतिवडा, कोषाध्यक्षमा श्रुति श्रेष्ठ तथा कञ्चन अधिकारी, हिमेशरत्न वज्राचार्य र सुनिता कार्कीलाई कार्यसमिति सदस्यमा चयन गरेको छ।

साधारण सभामा सीएमआर नेपालका सचिव दीपक अर्यालले आर्थिक वर्ष २०७७-२०७८ मा संस्थाले सञ्चालन गरेका परियोजना गतिविधिबारे प्रतिवेदन पेश गरेका थिए। उनले संस्थाले विगत वर्षदेखि नीतिगत क्षेत्रमा काम गर्दै आएको र आगामी दिनमा पत्रकारको क्षमता अभिवृद्धिका लागि सीएमआर थप कटिबद्ध भएर लागिपर्ने बताए।

सीएमआर नेपालले ४ वर्षदेखि ३ वटा आयोजनासहित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। यसले मिडिया नीति समीक्षा र वकालत गतिविधि, पत्रकारको क्षमता अभिवृद्धि र डिजिटल मिडियासम्बन्धि मामिलालगायतका विषयमा पनि काम गर्दै आएको छ।

कार्यक्रममा कार्यबाहक कोषाध्यक्ष श्रुति श्रेष्ठले संस्थाको आर्थिक वर्ष २०७७-२०७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गरिन्। सचिव र कोषाध्यक्षको प्रतिवेदन साधारणसभाले पारित गरेको छ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका सहप्राध्यापक कुन्दन अर्यालले नेपाली मिडियामा अनुसन्धानको परम्परा विकासमा सीएमआर नेपालको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। यसैगरी, नेपाल पत्रकार महासंघका सचिव पवन आचार्यले नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै नेपाली पत्रकारिताको उत्थानका लागि अनुसन्धान गर्ने र अन्य पत्रकारिता र मिडियासँग सम्बन्धित संस्थाबीच सहकार्यको आवश्यकता औँल्याए।

सीएमआर नेपालका कार्यकारी निर्देशक तिलक पाठकले आगामी योजना र गतिविधिबारे जानकारी गराए। उनले कोभिड-१९ को संकट र पत्रकारितामा परेको असरबीच पनि संस्थाले आवश्यकताका आधारमा कार्यक्रम तथा गतिविधिमा केन्द्रित हुने जानकारी दिए।

साधारणसभामा संस्थापक अध्यक्ष तथा पूर्वकार्यकारी निर्देशक उज्ज्वल आचार्य, निवर्तमान अध्यक्ष ऋषिकेश दाहाल, पूर्वअध्यक्ष भुवन केसीलगायतले निर्वाचित पदाधिकारीलाई शुभकामना दिएका थिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell