हेटौँडा : अर्थमन्त्री जनार्दन शर्माले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गरिने बताएका छन्। आइतवार योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसीएल) हेटौँडा उपमहानगरको नेकपा विभाजनपछिको पहिलो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्यसमेत रहेका अर्थमन्त्री शर्माले हाल बन्द हुन पुगेका उद्योगहरु सरकारले सञ्चालन गर्ने योजनासहित तयारी गरिरहेको उल्लेख गरे। उत्पादनमुखी अर्थतन्त्रको विकासमा सरकारको जोड रहेको अर्थमन्त्री शर्माको भनाइ छ।
हाल माओवादी पार्टी र नेतृत्व प्रचण्डमाथिको हमला व्यक्तिप्रति लक्षित नभई सिङ्गो परिवर्तनमाथिको हमला रहेको उल्लेख गर्दै उनले पार्टीले यसको एक ढिक्का भएर प्रतिवाद गर्ने बताए। बाहिरबाट हेर्दा व्यक्तिप्रति लक्षित देखिएपनि यथार्थमा संविधान, परिवर्तन एवं व्यवस्थाप्रति हमला लक्षित रहेको उनको भनाइ छ।
प्रतिगमनकारीहरुको उक्त हमला र चुनौती स्वीकार रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले त्यसलाई पराजित गर्ने तागत माओवादी केन्द्रसँग रहेको दावी गरे।