वीरगंज : पर्साका युवाहरुको समूहले पर्साको ग्रामिण भेगलाई जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको तिलावे खोलाको पुल निर्माण गर्न माग गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद ढकाल र हुलाकी सडक निर्माण निर्देशनालय वीरगंजलाई आइतवार ज्ञापन पत्र बुझाउँदै युवाहरुको समूहले यथासिघ्र पुल निर्माणको लागि माग गरेका हुन्।
तिलावे पुल निर्माण दबाब समूह गठन गरी कार्यक्रम गरिएको दबाब समूहका राजेश यादवले बताए। ज्ञापन पत्र बुझ्दै प्रजिअ ढकालले ठेकेदारलाई कानुनको दायरमा ल्याएर पुल निर्माण कार्य अघि बढाउने आश्वासन दिए।
हुलाकी निर्देशनालयको कार्यालय वीरगंजले पुल निर्माणको जिम्मा पप्पु र लुम्बिनीकै भएकोले एक आपसको विवादको कारण पुल निर्माणको काम अवरुद्ध भएको जनाएको छ। कार्यालयले आर्थिक लेनदेनमा फरक परेर दुवैले काममा ढिलाई गरेको बताएको छ।
कार्यालयका एक इन्जिनियरका अनुसार ठेकेदारलाई कारबाहीको प्रकृया अघि बढाइएको छ। उनले ७ दिने कारबाहीको सूचना गरेको र हालसम्म ठेकेदारले कार्यालयमा सम्पर्क नगरेको बताए। अब अख्तियारमा पत्राचार गरी ठेकेदारलाई खोजीकार्यको लागि प्रहरीमा चिठ्ठी काट्ने हुलाकी सडक निर्माण निर्देशनालय वीरगंजको तयारी रहेको छ।
भौतिक पूर्वाधार विकास मन्त्री विमलेन्द्र निधि हुँदा आव २०७४/०७५ मा उक्त पुलको काम शुरु भएको थियो। दुई वर्षभित्र काम सकाउन पप्पु/लुम्बिनी जेभीले पक्की पुल निर्माणको लागि ठेक्का पाएको थियो। पुलको करिब ४० प्रतिशत मात्र काम सम्पन्न भएको छ।
उचित डाइभर्सन नहुँदा पुलको निर्माण कार्यमा समस्या हुने गरेको छ। पुलको निर्माण कार्यले पर्साको ग्रामिण भेगका जनता वीरगंज आउजाउ गर्दा सधैँ पुलमा बिहान र बेलुकाको समयमा लाग्ने घण्टौँ जामको कारण पीडित छन्।
