PahiloPost

Oct 23, 2024 | ७ कात्तिक २०८१

सुदूरपश्चिममा मुख्यमन्त्री पाउनुपर्ने एकीकृत समाजवादी पार्टीको दावी



सुदूरपश्चिममा मुख्यमन्त्री पाउनुपर्ने एकीकृत समाजवादी पार्टीको दावी

कैलाली : नेकपा (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिम सरकारको नेतृत्वका लागि दावी गरेको छ। ५ दलीय गठबन्धन अनुसार अहिले सुदूरपश्चिममा माओवादीको नेतृत्वमा प्रदेश सरकार छ। ठूलो दलको हैसियतले एकीकृत समाजवादीले नेतृत्वमा दावी गर्न थालेको हो।

सुदूरपश्चिममा गत १० गते बसेको पार्टीको प्रदेश कमिटीको बैठकबाट आफ्नो नेतृत्वमा सरकार सञ्चालनका लागि केन्द्रीय कमिटीलाई दबाब दिने निर्णय भएको धनगढीमा आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ। मन्त्री मण्डलमा जिम्मेवारी हेरफेर हुनुपर्ने र ठूलो दलको हैसियतले एकीकृत समाजवादीले सरकारको नेतृत्व पाउनुपर्ने माग प्रदेश कमिटीले अघि बढाएको पार्टीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले बताइन्।

‘सुदूरपश्चिममा हामी सबैभन्दा ठूलो दल हो। त्यसैले हाम्रो हक पनि रहन्छ। अहिले नै तत्कालै लिखित चाहिन्छ भन्ने त हैन। तर, गठबन्धनले सुदूरपश्चिममा हामीलाई सरकारको नेतृत्व दिनुपर्छ भन्ने हाम्रो माग छ। तर, गठबन्धनको संस्कृति अनुसार सहमतिमा हिँड्न पनि हामी तयार छौँ,’ उनले भनिन्।

प्रदेशमा चार ठूला दलमध्ये एकीकृत समाजवादीका १४, नेकपा (माओवादी केन्द्र)का १३, नेपाली कांग्रेसका १२ र नेकपा (एमाले)का सभामुखसहित ११ सांसद रहेका छन्। उक्त बैठकले १ सय ५१ सदस्यीय प्रदेश कमिटी जारी गर्दै ९ वटै जिल्लाहरूमा तीन महिने सङ्गठन निर्माण तथा विस्तार अभियान चलाउने पनि निर्णय गरेको छ।

साथै, शेरबहादुर कुँवरलाई सङ्गठन विभाग, हर्कबहादुर सिंहलाई स्कुल विभाग, दिनेशचन्द्र सुवेदीलाई प्रदेश कार्यालय व्यवस्थापन विभाग, दीर्घ सोडारीलाई कोष तथा आर्थिक, तारा लामा तामाङलाई प्रचार विभाग र माया भट्टलाई महिला फाँटको जिम्मेवारी दिने पनि बैठकले निर्णय गरेको छ। बाढी, पहिरो प्रभावित कृषकलाई निःशुल्क मलखाद तथा बीउ बिजन उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय पनि गरिएको प्रदेश कमिटी सचिव दिनेशचन्द्र सुवेदीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell