काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पदबाट राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्रीको प्रक्रिया शुरु भएको छ।
प्रदेश प्रमुखको कार्यालयले राजीनामा स्वीकृत गर्दै बहुमत पुग्ने दललाई मुख्यमन्त्री पदका लागि दावी गर्न आह्वान गरेको छ। त्यसका लागि मंगलवार रातको ७:३० बजेसम्म समय तोकिएको छ।
शाहीले सोमवार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष राजीनामा बुझाएका हुन्। सरकारको नेतृत्व थाम्ने कसरत अन्तिमसम्म गरे पनि उनले राजीनामा दिएका छन्। राजीनामासँगै नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरणको पनि शाहीले घोषणा गरेका छन्।
सोमवार साँझ प्रदेशबासीलाई सम्बोधन गर्दै सत्ता गठबन्धनमा भएको सहमति अनुसार नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गरेको घोषणा उनले गरेका हुन्।
गएको वैशाख ३ मा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने क्रममा कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही र नेकपा (एमाले) को तत्कालीन माधव नेपाल समूहका नेता प्रकाश ज्वालाबीच सरकार सञ्चालन सम्बन्धमा ११ बुँदे सहमति भएको थियो। सोही अनुसार उनले सत्ता हस्तान्तरण गरेका हुन्। शाहीले सहमति लत्याउने र केन्द्रीय गठबन्धनको निर्णय कुर्ने भने प्रयत्न गरेका थिए।
तर, कांग्रेस संसदीय दल कर्णाली प्रदेशले सोमवारसम्म राजीनामा नदिए समर्थन फिर्ता लिने चेतावनी दिएपछि शाहीले राजीनामा दिएका हुन्।
शाही २०७४ फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। शाहीले तीन वर्ष आठ महिनाको कार्यकाल उपलब्धिमूलक भएको दावी गरेका छन्। मुख्यमन्त्री शाहीले पटक-पटक संकट टार्दै सत्ता सञ्चालन गरेका थिए।

