PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मंगलगढीदेखि लाटीकोइली जोड्ने सडक तीन वर्षदेखि अलपत्र परेको भन्दै स्थानीयले गरे विरोध प्रदर्शन



मंगलगढीदेखि लाटीकोइली जोड्ने सडक तीन वर्षदेखि अलपत्र परेको भन्दै स्थानीयले गरे विरोध प्रदर्शन

सुर्खेत : वीरेन्द्रनगरको मुख्यबजार मंगलगढीदेखि लाटीकोइली जोड्ने सडक तीन वर्षदेखि अलपत्र परेको भन्दै स्थानीयले दबाव स्वरुप विरोध र्‍याली प्रदर्शन गरेका छन्। सडक निर्माण अलपत्र हुँदा सर्वसाधारणदेखि पर्यटकले सास्ती खेप्नुपरेको भन्दै तत्काल काम अघि बढाउन उनीहरुले माग गरेका छन्।

स्थानीयले ब्यानर, प्ले कार्ड लिएर नारा, जुलुससहित प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा पुगेर धर्ना दिएका छन्। सरकारी निकाय र निर्माण कम्पनीको चरम लापरबाहीले सडक निर्माण अलपत्र परेको भन्दै मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै तत्काल काम अघि बढाउन उनीहरुले माग गरेका छन्।

‘बनाउँछौँ भनेर काम थालेको तीन वर्ष बितिसक्यो, सडक खोलाको बगर जस्तो छ’, लाटीकोइली-९ का स्थानीय डीलबहादुर महताराले भने, ‘पानी पर्दा हिलो, खाल्डा, खुल्डी र खडेरीमा धुलो, धुँवाले सामान्य अवस्थाको मान्छेलाई हिड्न सक्ने अवस्था छैन, गर्भवती र बिरामीलाई एम्बुलेन्स ल्याउन लैजान कठिन भइसक्यो। तर, सरकारको अझै ध्यान पुगेन।’

यो सडक मार्गबाट दैनिक सयौँ पर्यटकहरु ओहोरदोहोर गर्छन्। पर्यटकीयस्थल काँक्रेबिहार जोड्ने सडक हुँदा पनि सरकारले ध्यान नदिएको स्थानीयको आरोप छ। २०७५/०७६ मा सडकको निर्माण कार्य शुरु भएको थियो। त्यत्तिबेला सडकको नाला वीरेन्द्रनगर नगरपालिकाले गर्ने र माथिल्लो सतहको काम पूर्वाधार निर्देशनालयले गर्नेगरी समझदारी भएको थियो।

नालाको काम नगरी सर्फेसको काम गर्न नमिल्ने हुँदा केही ढिलाई भएको पूर्वाधार निर्देशनालयले जनाएको छ।

‘नगरपालिकाले नालाको काम र प्रदेशले माथिल्लो सर्फेसको काम गर्नेगरी स्टिमेट थियो, त्यतिबेला नगरसँग बजेट अभाव भयो’, निर्देशनालयका प्राविधिक अधिकृत हरिशर्मा धितालले भने, ‘चालु आर्थिक वर्षमा सडकको काम सक्ने गरी ठेक्का लगाएर काम अघि बढाउने तयारी गरेका छौँ।’

उक्त सडक निर्माणका लागि निर्देशनालयले १८ करोड रुपैयाँ विनियोजन गरेको छ। सडक निर्माणको सुरुवाती चरणमा जग्गाको मुआब्जा र बीच सडकमा विद्युतको पोल हुँदा पनि केही ढिलाई भएको धितालको भनाइ छ। निर्देशनालयका अनुसार अहिले सबै समस्या समाधान भएकाले अब सडक स्तरोन्नतीको काम नरोकिने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell