आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा श्रीलंकाले वेस्ट इण्डिजलाई हराएको छ। अबु धाबीस्थित जायेद क्रिकेट स्टेडियममा सम्पन्न खेलमा वेस्ट इण्डिजलाई २० रनले हराउँदै श्रीलंकाले जारी विश्वकपमा दोस्रो जित निकालेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८९ रन बनाएको थियो। १९० रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिज निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रनमा समेटियो।
सुरुवाती ब्याटिङमा उत्रिएको श्रीलंकाका लागि चरिथ असालान्काले सर्वाधिक ६८ रन बनाउँदा पथुम निसान्काले ५१ रन, कुशल परेराले २९ र कप्तान दासुन शानकाले २५ रन जोडे।
बलिङतर्फ वेस्ट इण्डिजका आन्द्रे रसेलले २ र ड्वाइने ब्राभोले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इण्डिजका लागि सिमरोन हेटमायरले सर्वाधिक ८१ रन बनाउँदा निकोलस पूरनले ४६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।।
श्रीलंकाका बिनुरा फर्नान्डो, चमिका करुणारत्ने र वानिन्दु हसरंगा डे सिल्भाले २/२ तथा दुष्मन्था चमीरा र दासुन शानकाले समान १/१ विकेट लिए।
